औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सासु कोषमा आवद्ध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। 

उनका अनुसार औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिब ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । 

मन्त्री भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति समेत कोषमा आबद्ध भइसकेको जानकारी दिए । 

उनले हालसम्म १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आबद्ध भइसकेको उल्लेख गर्दै सामाजिक सुरक्षा कोषलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य सरकारको स्पष्ट पारे । 

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने व्यवस्था सरकारले गरेको स्पष्ट गर्दै यसले वैदेशिक रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई समेत सहयोग पुग्ने विश्वास मन्त्री भण्डारीको छ ।

उनले आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको पनि बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साथै सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

Share News