५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार (भोलि) सोमबार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिएको हो ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका रहेको छ भने त्यसरी जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत नै तय हुनेछ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेका छन् ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार यसअघि बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४८ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको थियो । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

ट्रेजरी बिलहरू बोलकबोलमार्फत निष्कासन हुने गरेका छन् । यसमा बहु–बोलमूल्य विधि प्रयोग हुन्छ । विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रस्ताव गर्छन् र औसत मूल्यमा वितरण गरिन्छ ।

यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ । प्रतिष्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिष्पर्धी बोलवालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । तर एउटै बोलकबोलमा प्रतिष्पर्धी र अप्रतिष्पर्धी दुवैतर्फबाट बोल गर्न पाइँदैन ।

सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ ।

Share News