प्रभावकारी इन्भेस्टमेण्ट कम्पनी खोल्दै घरजग्गा व्यवसायी, सुरुवाती पुँजी ५ अर्ब रुपैयाँ

काठमाडौं । घरजग्गा व्यवसायीहरू एकीकृत भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् ।
देशभरका व्यवसायीहरू एकजुट भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत देशका मुख्य सहरहरूमा लगानी गर्ने गरी तयारी भइरहेको हो । 

अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए ।

घिमिरेले देशभरका व्यवसायीहरू अहिले एकजुट हुने क्रम सुरु भएको जानकारी दिए । 

उनका अनुसार इन्भेस्टमेन्ट कम्पनी निर्माण भइसकेको छ । अब सोही कम्पनीमार्फत पुँजी संकलन गरिनेछ । सोही पुँजीबाट देशभर हाउजिङदेखि टाउन प्लानिङसम्ममा लगानी गर्ने तयारी छ । 

nullनेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे

अध्यक्ष घिमिरेले भने, ‘अहिले देशभरिका व्यवसायीहरू एकजुट भएका छौं । हामी सबै व्यवसायी एक ठाउँमा आएर  काम गर्ने भनेर हामीले एउटा इन्भेस्टमेण्ट कम्पनी पनि खोलिराखेका छौं र त्यसमा हामीले कसले कति सक्छ, सक्ने जतिले त्यहाँ पैसा उठाएर त्यसबाट काम गर्ने भनेर हामी लागिराखेका छौं । यो हिसाबमा सफल हुने योजना छ ।’ 

उनले ४४–४५ वटा जिल्लामा महासंघका संघसंगठन रहेको बताए ।  ती संस्थामा रहेका व्यवसायीले  ५ लाखदेखि २० लाखसम्म लगानी गर्न भनिएको छ । त्यो अनुसारको  एउटा फण्ड जुटाइँदैछ र त्यो फण्डले चाहिँ प्रदेश सातवटा प्रदेशमा काम गर्ने योजना छ ।

घिमिरेका अनुसार कुन–कुन सहरमा नयाँ आधुनिक सहर बनाउने भन्नेबारे अहिले अनुसन्धान चलिरहेको छ । लगानी गर्ने सहरमा व्यवसायीहरू मिलेर काम गर्ने योजना छ ।  

पाँच अर्ब रुपैयाँबाट काम सुरु गर्ने

अध्यक्ष घिमिरेका अनुसार सुरुमा त लगभग पाँच अर्ब जतिबाट काम सुरु गर्ने योजना छ । एकैचोटि धेरै पुँजी नउठ्न पनि सक्छ । थोरै–थोरैबाट काम गर्दै जाने योजना छ । एक ठाउँमा काम गर्दै जाने  र त्यो राम्रो हुँदै गए क्रमशः पुँजी थप संकलनसँगै नयाँ प्रोजेक्टहरु सुरु गर्ने योजना छ ।   

घिमिरेले मुख्य–मुख्य सहरहरू अहिले ध्यान केन्द्रित गराउने उल्लेख गर्दै सरकारले बजेटमा पनि सात वटा प्रदेशमा एक लाख वटा घर बनाउने योजना अघि सारेकाले त्यसलाई पूरा गराउन अब व्यवसायीहरू योजनावद्ध तरिकाले लाग्ने बताए ।

उनले सातवटा प्रदेशमा टाउन प्लानिङ गरेर घरहरू निर्माण हुने जानकारी दिए । 

इन्भेष्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानी गर्न खोजेपनि चुनौतीको चाङ रहेको घिमिरे बताउँछन् । उनका अनुसार अहिले कित्तकाटका कारण समस्या पैदा भइरहेको छ । अहिले राज्यका नीतिहरु स्पष्ट नहुँदा घरजग्गा व्यवसाय प्रभावित बनिरहेको छ भने नागरिकले समेत सास्ती खेप्नुपरेको छ ।  

घिमिरेले भने, ‘अहिले स्थानीय तह, वडादेखि नै हाम्रा सरकार सुरु हुन्छ ।  यता  काठमाडौं उपत्यका प्राधिकरण हुन्छ । सहरी मन्त्रालयदेखि लिएर भूमि सुधार मन्त्रालय सबै हुन्छ । यो यस्तो धेरै झन्झट नभइकन एकद्वार प्रणालीबाट काम भयो भने काम गर्न सजिलो हुन्थ्यो । हामीले पटक–पटक माग पनि यही गरेका छौं ।’ 

उनका अनुसार अब छिट्टै सहरी ऐन आउनुपर्छ । ऐनमा निजी क्षेत्रका कुराहरु समेटिनुपर्छ । विकसित देशहरूमा धेरै काम निजी क्षेत्रले गर्ने भएकाले नेपालमा त्यो अभ्यास कम छ । विदेशमा जस्तै टाउन प्लानिङदेखिका सबै काम निजी क्षेत्रले गर्न पाउने गरी सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ रहेको छ । 

Share News