प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै, रात्रिभोजमा सहभागी हुने

काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । 

चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

Share News