काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको भदौ १३ गतेको बैठकले १२१ अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
विभिन्न मन्त्रालय अन्तर्गतका आयोजना र कार्यालयरूबाट माग भएबमोजिम त्यस्ता दरबन्दी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता श्रृजना शर्माका अनुसार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सबैभन्दा धेरै अधिकृतहरूको दरबन्दी स्वीकृत गरिएको छ । उक्त मन्त्रालयमा ८७ जना अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिएको हो ।
यसैगरी, युवा तथा खेलकुद मन्त्रालयमा २१ र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १० जना अधिकृतको अस्थायी दरवन्दी स्वीकृत गरीएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार ती दरबन्दीहरू अस्थायी भएपनि बहालवाला स्थायी कर्मचारी नै ती दरबन्दीमा रहनेछन् ।
भूमि व्यवस्था मन्त्रालयका ८७ जना अधिकृतमध्ये ३ जना सहसचिव स्तरका र ४ जना उपसचिव स्तरका अधिकृत रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।
भूमि आयोगसहितका विभिन्न कार्यालयमा काजमा कार्यरत कर्मचारीहरूको दरबन्दी स्वीकृत मन्त्रिपरिषदले गर्ने गरेको उनले जानकारी दिए ।
खेलकुदमा पनि राष्ट्रिय युवा परिषद, फाप्ला क्रिकेट मैदानलगायतमा रहेका अस्थायी दरबन्दीका स्थायी कर्मचारीको दरबन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले बताए ।
यस्तै, पर्यटन मन्त्रालय अन्तर्गतका दश दरबन्दी पनि सोही प्रकृतिको रहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार पुरातत्व विभागमा एक जना सहसचिवसहित दश जनाको दरबन्दी रहेको छ ।