काठमाडौं । सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इसेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्व स्वीकृति नदिएको स्पष्ट पारेको छ ।
विभागद्वारा आज जारी विज्ञप्तिमा इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचार गरी रकम असुली भइरहेको तर्फ विभागको ध्यानाकर्षण भएको जनाइएको छ । विभागका अनुसार मन्त्रालयबाट गणतन्त्र कोरियामा सीप युक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ ।
तर विभागबाट हालसम्म आधिकारिक रुपमा इसेभेन भिसामा पठाउने प्रतिक्रियास्वरुप कुनै संस्थालाई पूर्व स्वीकृति दिन सुरु भएको छैन । कोरियास्थित नेपाली राजदूतावासबाट यस प्रकारको भिसाका लागि कार्यविधिअनुसार प्रक्रिया पूरा गरी माग पत्र प्रमाणीकरणका लागि कुनै आवेदन नआएको बताइएको छ ।
‘कुनै पनि व्यक्ति तथा संस्थाले सामाजिक सञ्जाललगायत अनधिकृत तवरले इसेभेन भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमा वा आश्वासन दिएमा त्यस प्रकारको प्रलोभनमा परी अनधिकृत व्यक्ति तथा संस्थालाई रकम बुझाउने काम नगर्न/नगराउन हुन अनुरोध छ,’ विभागका उप-महानिर्देशक चन्द्र बहादुर सिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।