काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेल ६ महिनामा कुनै कायापलट नहुने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ६ महिनामा धेरैले राखेजस्तो अपेक्षा काम नहुने धारणा राखेका हुन् ।
‘मसँग धेरैले धेरै अपेक्षा राखेका छन्, ६ महिनामा केही पनि हुन सक्दैन । सोचेजस्तो कायापलट हुँदैन,' उनले भने ।
उनले फागुनसम्म तीन काम गर्न सकिने धारणा राखे । ‘फागुन २१ मा चुनाव भ्रष्टाचार नियन्त्रण गरे शुसाशन कायम गर्ने र जनतालाई त्यसको महसुस गराउने । भ्रष्टाचार नियन्त्रण पनि ५ महिनामा हुँदैन । यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा निर्मम छ भन्ने महसुस गराउँछ । हामी खरानी टकटक्याउँदै जीवन र धरोहरको पुननिर्माण गर्नेछौं,’ उनले भने ।
यस्तै, उनले मन्त्रीको नामबाट कुनै पनि हस्तक्षेप नहुने पनि बताएका छन् । उनले देशको प्रशासन संयन्त्रलाई विश्वास गर्ने बताउँदै देश र जनतालाई काम गरेर अगाडि बढ्न निर्देशन दिए ।
मन्त्री खरेलले ५ महिनाभित्र देशका प्रमुख ७ वटा प्रदेशका शहर र अन्य १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । उनले काठमाडाैंकाे सार्वजनिक स्थलमा पनि निःशुल्क इन्टरनेट उपलब्ध गर्ने निर्णय गरेका छन् ।