एमालेमा सचिवालय बैठकको तयारी, अध्यक्ष ओली वन टु वन भेटघाटमा व्यस्त

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकको तयारी सुरु गरेको छ । पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक भएसँगै सचिवालय बैठकको तयारी सुरु भएको एक पदाधिकारीले जानकारी दिए । 

सचिवालय बैठकको तयारीस्वरूप अध्यक्ष ओलीले पदाधिकारीहरूसँग गहन संवाद सुरु गरेका छन् । उपमहासचिव प्रदीप ज्ञवालीसँग अनौपचारिक रूपमा लामो संवाद गरेका ओलीले पार्टीका अन्य पदाधिकारीहरूसँग पनि संवाद सुरु गरेका छन् । 

पार्टीका एकजना पदाधिकारीले दिएको जानकारीअनुसार अध्यक्ष ओली सकेसम्म दशैं अगाडि नै सचिवालय बैठक राख्ने सोचमा रहेका छन् । 

‘पछिल्लो वस्तुस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्न ढिलो भएको भन्ने बुझाइ अध्यक्षज्यूको छ,’ ती पदाधिकारीले भने ।

अध्यक्ष ओलीले उपमहासचिव ज्ञवालीसँगको लामो परामर्शपछि महासचिव शंकर पोखरेललाई गुण्डुस्थित निवासमा बोलाएका थिए । पछिल्लो समय ओलीले उपमहासचिव ज्ञवालीलाई अलि बढी विश्वास गर्न थालेको बताइएको छ ।

निर्वतमान प्रधानमन्त्री ओलीले महासचिव पोखरेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव पद्या अर्याललाई पनि निवासमा बोलाएर संवाद गरेको ती नेताले जानकारी दिए । ओलीले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि निवासमा बोलाएर कुराकानी गरिसकेका छन् । 

सचिवालयमै अल्पमतमा पर्न सक्ने सम्भावना भएपछि ओलीले सबै पदाधिकारीलाई एक्लाएक्लै भेट्ने रणनीति अख्तियार गरेका हुन् । 

एमालेका ती पदाधिकारीका अनुसार असोज १२ गतेलाई सचिवालय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यदि उक्त दिन बैठक आयोजना गर्न नसकिए दशैं अगाडि बैठक बस्ने सम्भावना अत्यन्त न्यून रहेको उनले जानकारी दिए ।

भदौ १९ मा पछिल्लो पटक एमालेको सचिवालय बैठक बसेको थियो । भदौ २० देखि २२ सम्म भएको दोस्रो विधान महाधिवेशन पछि एमाले कुनै पनि सार्वजनिक फोरममा संस्थागत रूपमा देखिएको छैन ।

एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेको बेलामा हुन लागेको सचिवालय बैठकको बेग्लै महत्त्व रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। 

उपाध्यक्ष गुरु बराल, महासचिव पोखरेल, उपमहासचिव ज्ञवाली, अर्का उपमहासचिव विष्णु रिमाल र सचिव पद्या अर्याल तत्काल पार्टी पुनर्गठन गर्न नहुने पक्षमा छन् । 

उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव गुरुङ पर्ख र हेरको अवस्थामा रहेका छन् । उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङ पछिल्लो समय निर्णायक देखिन्छन् ।

उपाध्यक्ष रामबहादुर थापा निस्क्रिय छन् । सचिव टोपबहादुर रायमाझी निलम्वनको अवस्थामा रहेका छन् । सचिव छविलाल विश्वकर्माले पौडेलको विचार पर्खेर बसेका छन् भने अर्का सचिव रघुवीर महासेठ अहिलेसम्म खुलेका छैनन् ।

Share News