काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ कम्युनिष्ट एकताको पहलमा लागेका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पुराना दलहरुले नराम्रो हार व्यहोरेपछि श्रेष्ठ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत कम्युनिष्ट पार्टीहरु एकताका लागि पहलमा लागेका हुन् ।
उनले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर अब एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेको बुझिएको छ । ओली पनि त्यसमा सकारात्मक भएको र थप छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा ओलीले राखेको बुझिएको छ ।
श्रेष्ठले ओलीलाई अस्पतालमै गएर भेटवार्ता गरेको पार्टीको नेताहरुले बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा २०८३ सालको शुभकामना दिँदै उनले निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली कम्युनिस्ट शक्तिहरूले निराशा र पलायन हुन नहुने उल्लेख गर्दै पुर्नगठनको प्रक्रियामा अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘समग्र परिस्थितिको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा, वस्तुनिष्ठ निष्कर्षसहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको प्रक्रिया अघि बढाउने दृढ सङ्कल्प गर्नु जरुरी छ । नयाँ वर्षलाई सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले निजी स्वार्थबाट माथि उठेर गतकालका गल्ती कमजोरीहरू सच्याउँदै त्यस दिशामा अभिमुख हुने अवसर बनाउन सकौैं,’ उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा जनताको तर्फबाट सुशासन र रोजगारी मूल रहेको उक्त उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर परिवर्तनको आकाङ्क्षालाई मतादेशमा अभिव्यक्त गरिएको छ । तसर्थ जनताको अपेक्षा अनुसार नयाँ वर्षमा वर्तमान सरकारलाई त्यस दिशामा परिणाममुखी कार्य गर्ने सफलता प्राप्त हुन सकोस् ।’