काठमाडौं । नेकपा (एमाले) भित्र पार्टीको नीति, नेतृत्व शैली र संगठन सञ्चालनको पद्धतिमा सुधारको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान’ ले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा पार्टीको वर्तमान कार्यशैली, निर्वाचनमा भएको पराजयको समीक्षा, संगठनको सुस्तता र आन्तरिक लोकतन्त्रको अवस्थाप्रति गम्भीर प्रश्न उठाइएको छ ।
अभियानले निर्वाचन सम्पन्न भएको करिब ६ महिना पुग्न लाग्दा पनि केन्द्रीय कमिटीको बैठक बस्न नसक्नु अस्वाभाविक र चिन्ताजनक भएको जनाएको छ । निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको वस्तुनिष्ठ समीक्षा गर्दै संगठनमा नयाँ ऊर्जा र उत्साह भर्नुपर्ने समयमा नेतृत्वले बैठकसमेत टारिरहेको आरोप अभियानको छ ।
पत्रमा पार्टीले निर्वाचन परिणामको गम्भीर समीक्षा नगरेको तथा समीक्षा र पुनर्गठनका लागि गठन गरिएको कार्यदलको प्रतिवेदनसमेत सार्वजनिक नगरेको भन्दै असन्तुष्टि जनाइएको छ ।
नेतृत्वमाथि बढ्दो प्रश्न
अभियानले एमालेले जनताको विश्वास क्रमशः गुमाउँदै गएको दाबी गरेको छ । पछिल्लो जनादेशबाट बनेको सरकारप्रति जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै सरकारका नीति र शासन सञ्चालनमा देखिएको अन्योल तथा अपरिपक्वताले राष्ट्रिय हित र सुरक्षासमेत प्रभावित हुनसक्ने चेतावनी दिइएको छ ।
छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय सम्बन्ध थप जटिल बन्दै गएको र जनताको दैनिक जीवनसमेत कष्टकर बन्दै गएको अभियानको निष्कर्ष छ ।
एमालेभित्र निर्वाचनपछि समीक्षा र संगठन पुनर्गठनका लागि गठन गरिएको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ ले प्रतिवेदन तयार गरिसकेको भए पनि त्यसलाई पार्टीमा सार्वजनिक छलफलमा नल्याइएको अभियानको भनाइ छ ।
कार्यदलले दिएका सुझाव कार्यान्वयनको सट्टा नेतृत्वले बेवास्ता गरेको भन्दै अभियानले यसले पार्टी पंक्तिमा अन्योल र निराशा बढाएको दाबी गरेको छ ।
‘निर्मम समीक्षा आवश्यक’
पुनर्जागरण अभियानले पार्टी सुधारका लागि पाँच मुख्य माग अघि सारेको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन तत्काल सार्वजनिक गरी पार्टीभित्र व्यापक छलफल चलाउनुपर्ने उसको पहिलो माग छ ।
त्यस्तै, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउन, निर्वाचनमा भएको पराजयको ‘निर्मम’ समीक्षा गर्न तथा पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचनाको स्पष्ट खाका तयार गर्न माग गरिएको छ ।
अभियानले पार्टीका कमिटीहरूलाई प्रभावकारी बनाउँदै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिएको छ । व्यक्तिकेन्द्रित अभ्यासको सट्टा नीति, विधि र संस्थागत निर्णय प्रणालीलाई प्राथमिकता दिनुपर्ने उसको भनाइ छ ।
‘पार्टी फुटाउने होइन, विधिमा फर्काउने अभियान’
पुनर्जागरण अभियानले आफूहरूको उद्देश्य पार्टी विभाजन नभएको स्पष्ट पारेको छ । एमालेभित्र देखिएका समस्या पार्टी बाहिरबाट नभई पार्टीकै विधान, लोकतान्त्रिक अभ्यास र संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने उसको धारणा छ ।
‘पार्टीको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टीभित्रैको विधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै सम्भव छ’ अभियानले पत्रमा भनेको छ ।
पत्र एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीमार्फत दर्ता गरिएको हो । ज्ञापनपत्र बुझाउन अभियानका अगुवाहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार र नविना लामालगायत च्यासल पुगेका थिए ।
पछिल्लो समय एमालेभित्र निर्वाचन परिणाम, नेतृत्वको कार्यशैली र संगठन सञ्चालनको पद्धतिलाई लिएर विभिन्न तहबाट प्रश्न उठिरहेका बेला पुनर्जागरण अभियानको ध्यानाकर्षण पत्रलाई पार्टीभित्र सुधारको दबाब बढाउने अर्को प्रयासका रूपमा हेरिएको छ ।