कांग्रेसको विशेष महाधिवेशन विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बिहीबार) सुनुवाइ हुने भएको छ ।

विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै दायर रिटमा न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

यसअघि चैत २७ गते कामुप्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा लगायतलाई पेसीको सूचना दिन आदेश दिएको थियो । 

प्रारम्भिक सुनुवाइमा भने न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । 

अदालतले जटिल संवैधानिक र कानुनी प्रश्नहरूको अन्तिम निरूपण अन्तिम सुनुवाइमै हुने भन्दै तत्काल हस्तक्षेप आवश्यक नदेखिएको ठहर गरेको थियो । सो क्रममा अदालतले विपक्षीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा विरुद्ध कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखेको थियो ।

Share News