काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका संसदीय दलका नेता तथा पार्टीका तर्फबाट बनेका मुख्यमन्त्रीहरूको संयुक्त बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार वैशाख ६ गतेका लागि बैठक तय गरिएको हो । यद्यपि बैठकको समय भने अझै निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिए ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारी पनि दिएको छ । कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त जिम्मेवारी तोकेको जनाएको छ ।
पछिल्लो समय सुदूरपश्चिम र गण्डकी प्रदेशमा हालै गरिएको मन्त्रिपरिषद् हेरफेरको विषयमा समेत छलफल भएको थियो । सभापति गगन थापासँग समन्वय नगरी गरीएको उक्त पुनर्गठनलाई नेतृत्वले नोटिसमा राखेकोले सो विषयमा पनि छलफल गर्न उक्त बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
प्रवक्ता चालिसेले सरकार पुनर्गठनको विषय मुख्यमन्त्रीहरूको क्षेत्राधिकार भएका बताए ।