काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार अपराह्न बसेको बैठकमा पार्टीका प्रतिनिधि सभातर्फका सांसदहरूले सामूहिक छलफलमा जुटेका हुन् । प्रतिनिधि सभामा कांग्रेसका कुल ३८ जना सांसद रहेका छन् ।
पार्टीले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । यसका लागि सहमहामन्त्री प्रकाश रसाइली (स्नेही) को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
सोही समितिले सांसदहरूसँग आवश्यक परामर्श र छलफललाई तीव्रता दिएको हो ।
भर्खरैवाट छलफल सुरु भएको साँसद नरेन्द्र कुमार केरुङले जानकारी दिए । छलफलका क्रममा नेताहरूले संसदीय दलको नेता सहमतिमै चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।
यद्यपि सहमति जुट्न नसकेमा निर्वाचन प्रक्रिया अघि बढाइने र चुनावी कार्यक्रम सार्वजनिक गरिने तयारी रहेको सँयोजक रसाइलीले जानकारी दिए ।
निर्वाचन समितिले सहमति निर्माणका लागि आकांक्षी नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको छ ।
संसदीय दलको नेता बन्नका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे लगायतले आकांक्षा देखाएका छन् ।