काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकमा नेतृत्व चयनबारे प्रारम्भिक छलफल भएको निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन् । साथै मोहन आचार्यदेखि निस्कल राईसम्मका नेताहरूको नाम पनि चर्चामा रहेको छ ।
‘सम्भवतः भोलि सहमतिका साथ दलको नेता चयन हुन्छ,’ सोलुखुम्बुका सांसद प्रकाशसिंह कार्कीले भने ।
उनका अनुसार स्पष्ट मापदण्डसहित भोलि कांग्रेसले दलको नेता पाउनेछ ।
प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद रहेका छन् ।
पार्टीले सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको कार्कीले जानकारी दिए ।
सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत टुंगो लगाइने कार्कीले जानकारी दिए ।
सहमहामन्त्री रसाइलीका अनुसार सहमतिको प्रयासलाई निरन्तरता दिँदै भोलि पुनः दाबेदारहरूसँग छलफल गरिनेछ ।
उनले भने, ‘नेता चयन प्रक्रिया सुरु भइसकेको छ, तर आज टुंगो लागेन । भोलि फेरि छलफल गरेर सहमति खोज्ने प्रयास गर्छौं ।