भाडाको कोठामा नक्कली नोट तयार, भीडमा किनमेलको नाटक

काठमाडौं । साँझ पर्न थालेपछि ठमेलका गल्लीहरू उज्यालो बत्ती, संगीत र भीडले भरिन थाल्छन् । पर्यटक, युवा र किनमेलमा निस्किएका मानिसहरूको चहलपहलबीच केही अनुहार यस्ता पनि थिए, जसको उद्देश्य रमाइलो होइन- ठगी थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा भाडाको कोठाबाट सुरु भएको एउटा सानो योजना विस्तारै उपत्यकाका भीडभाड हुने बजारसम्म फैलिएको थियो । बाहिरबाट हेर्दा सामान्य देखिने चार युवाहरू- रामकुमार पाख्रिन, पुर्णराज बाध्यकार, दीपेश बाध्यकार र शिव घिसिङ भित्रभित्रै नक्कली नोटको कारोबारमा संलग्न थिए ।

प्रहरीका अनुसार उनीहरूले कोठा भाडामा लिएर नक्कली नोट छाप्ने मेसिन जडान गरेका थिए । गिरोहभित्र कामको स्पष्ट बाँडफाँड थियो । मुख्य भूमिका पुर्णराज बाध्यकारले निभाउँथे- नोट छाप्ने जिम्मा उनकै थियो । अन्य सदस्यहरूलाई भने ती नोट बजारमा ‘साट्न’ पठाइन्थ्यो । उनीहरूको तरिका पनि निकै चलाख थियो ।

साँझको समय जब बजार व्यस्त हुन्थ्यो, उनीहरू किनमेलको बहानामा पसलतिर लाग्थे । ५ हजार रुपैयाँको सामान किन्दा उनीहरूले सक्कली नोटको बीचमा १-२ वटा नक्कली नोट मिसाएर भुक्तानी गर्थे । हतार, भीड र व्यस्तताबीच पसलेले छुट्याउनै सक्दैनथे।

प्रहरी स्रोतका अनुसार उनीहरूको गतिविधि केवल ठमेलमा मात्र सीमित थिएन । जात्रा र भीडभाड हुने अन्य स्थानहरूमा पनि उनीहरू सक्रिय थिए । विशेषगरी ठेलामा व्यापार गर्ने साना व्यापारी उनीहरूको सजिलो लक्ष्य बन्थे ।

नयाँ वर्षको समयमा त उनीहरू अझ सक्रिय भए । भीड, उत्सव र हतारबीच नक्कली नोट चलाउन सजिलो हुने उनीहरूको बुझाइ थियो। रेष्टुरेन्टहरुमा समेत उनीहरूले ठूलो बिल आउने गरी अर्डर दिने, तर वास्तवमा धेरै नखाने- उद्देश्य केवल नक्कली नोट चलाउनु थियो ।

तर, लामो समयसम्म उनीहरूकाे नक्कली नाेटकाे काराेबारकाे धन्दा गतिविधि लुकेर बस्न सकेन । बजारमा नक्कली नोटको प्रयोग बढेको सूचनापछि प्रहरी सचेत बनेको थियो । शङ्कास्पद व्यवहार, अस्वाभाविक किनमेल शैली र बारम्बार एउटै ढाँचामा कारोबार गर्ने प्रवृत्तिले अन्ततः उनीहरू प्रहरीको निगरानीमा परे ।

गत शुक्रबार, उनीहरू फेरि ‘किनमेल’का लागि निस्कन लागेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । पक्राउ परेका बाध्यकारको कोठामा छापा मार्दा ५ सयको नोट ३७ थान, १ हजारका नोट ६ थान, १ हजारका नोट छापेर राखिएको एफो साइजका पेपर ८ थान, नक्कली नोट छाप्न प्रयोग गरिने मेसिन १ थान र १ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । 

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले भने, ‘यस्ता गिरोह चिन्ने संकेतहरू प्रष्ट हुन्छन् । व्यवहारमा अस्वाभाविकता, अनावश्यक ठूलो बिल बनाउने बानी र भुक्तानी गर्दा देखिने हतार- यी सबैले शंका पैदा गर्छन् ।’

Share News