मिसन रिकभरी, विजनेश ग्रोथमा सहकार्य

काठमाडौं । खराब कर्जा बढेर पाँच प्रतिशतको हाराहारीमा पुग्ने देखिएपछि नबिल बैंकका उच्च व्यवस्थापक नै समस्यामा परेका ऋणीसँग प्रत्यक्ष संवाद गर्न शाखा-शाखामा पुगे । ऋणीको वास्तविक समस्या पहिचान गर्ने, समाधानका उपाय खोज्ने र आवश्यक सहजीकरण गरेपछि बैंकले खराब कर्जा घटाउन सफलता पायो । 

नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले भने, ‘ग्राहकको मुख्य समस्या के रहेछ भनेर पत्ता लगाउन सक्षम भयौँ । उहाँहरूको समस्या बुझेर त्यसलाई समाधान गर्नतर्फ लाग्यौं । कतिपय विषयमा ग्राहकलाई राम्रोसँग प्रक्रिया बुझाएर समन्वयात्मक रूपमा काम गरेको हुँदा खराब कर्जा घटाउन सफल भयौँ ।’ 

जसको परिणामस्वरूप अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४.४८ प्रतिशत रहेको नबिलको खराब कर्जा गत आर्थिक वर्ष २०८२/८३ मा ४.२० प्रतिशतमा झरेको छ । गत वर्षको प्रयासले खराब कर्जा घटे पनि चुनौती सकिएको छैन । विशेषगरी निर्माण क्षेत्र अझै कठिन अवस्थामा रहेकाले त्यस्ता ऋणीलाई समस्याबाट बाहिर निकालेर पुनः व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउनु बैंकको प्राथमिकतामा छ ।

‘अझै पनि असुली गर्नुपर्ने धेरै छ । निर्माण क्षेत्रका व्यवसायीहरू अझै अप्ठ्यारो अवस्थामा छन् । उहाँहरूलाई सहयोग गर्नुपर्नेछ, उहाँहरूलाई अप्ठ्यारोबाट बाहिर निकाल्नुपर्नेछ,’ डीसीईओ बजगाईंले भने । 

असुलीमा गरिएको जोडको सकारात्मक प्रभाव बैंकको नाफामा पनि देखिएको छ । नबिलले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेको हो ।

खराब कर्जा नियन्त्रण र असुलीका लागि बैंकको व्यवस्थापन परिचालन हुँदा त्यसको सकारात्मक प्रभाव बैंकको वित्तीय विवरणमा परेको बजगाईंको भनाइ छ ।  साथै, चाइनिज ग्यारेन्टसम्बन्धी मुद्दामा बैंकले लडेको कानुनी लडाइँबाट प्राप्त परिणामले पनि नाफामा सकारात्मक योगदान गरेको उनले बताए । उक्त प्रकरणबाट कर कट्टीपछि करिब ६३ करोड रुपैयाँले बैंकको नाफामा सकारात्मक प्रभाव परेको उनले जनाए ।

null

सरकारसँग सहकार्य

गत असारसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन १२.९५ प्रतिशत र कर्जा लगानी १२ प्रतिशत बढी हो । सञ्चालक समितिको मार्गदर्शन, व्यवस्थापनको सामूहिक प्रयास, कर्मचारीबीचको सहकार्य, संस्थागत सुशासन र ग्राहकको विश्वासले बैंकको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको डीसीईओ बजगाईंको भनाइ छ । चालु आर्थिक वर्षमा पनि बैंकले सोही हाराहारी व्यवसाय विस्तारको लक्ष्य राखेको डीसीईओ बजगाईंले बताए । 

विशेषगरी सरकारले अघि सारेका नयाँ तथा ठूला परियोजनालाई नबिलले आगामी व्यवसाय विस्तारको अवसरका रूपमा लिएको छ । सरकारले घोषणा गरेका परियोजनाको काम अघि बढे अग्रणी बैंकका रूपमा आफूहरू पनि त्यसमा सहभागी हुने बजगाईं बताउँछन् । ‘नयाँ परियोजनामा हामीले योगदान गर्न सक्छौँ र त्यसबाट बैंकको व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने । 

बैंकले संस्थागत छवि निर्माण, ग्राहकको विश्वास, सुशासन र सामाजिक उत्तरदायित्वलाई पनि व्यवसाय विस्तारको आधार बनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुले समेत संस्थाप्रतिको विश्वास बलियो बनाउन सहयोग गरेको बजगाईंको भनाइ छ । उनका अनुसार बैंकको व्यवसाय केवल कर्जा प्रवाह बढाएर मात्र विस्तार हुँदैन । संस्थाको प्रतिष्ठा, बजार प्रवद्र्धन, सञ्चालन जोखिम व्यवस्थापन, विद्युतीय सुरक्षा, डिजिटल क्षमता, परियोजना विश्लेषण र कर्जा मापदण्डजस्ता पक्षले ग्राहक तथा व्यापारिक समुदायमा विश्वास निर्माण गर्छन् । 

‘एउटा संस्था चलाउँदा बजार प्रवद्र्धन, सञ्चालन जोखिम, विद्युतीय सुरक्षा जोखिम, डिजिटल क्षमता, परियोजनाको विश्लेषण, कर्जा मापदण्डलगायत धेरै पक्षमा काम गर्नुपर्छ । ती सबै पक्षमा काम गरिसकेपछि व्यापारिक जगत र ग्राहकसँग एउटा किसिमको विश्वास सिर्जना हुन्छ । त्यही विश्वासले व्यवसाय बढ्ने हो,’ उनले भने । 

बैंकले नियामकले तोकेका क्षेत्रमा अनिवार्य कर्जा लगानीसँगै अवसर देखिएका अन्य क्षेत्र हाइड्रोपावर, सोलार पावर, एसएमई, विद्युतीय सवारीसाधन (ईभी) मा लगानी विस्तार गर्ने योजना अघि सारेको छ । व्यवसाय विस्तारका लागि बैंकले विज्ञ टोलीसँगको राय सुझाव पनि लिने गरेको उनको भनाइ छ ।

‘बैंकले रिसर्च एनालिस्टहरु, इकोनोमिस्टहरु पनि राखेको छ । उहाँहरुले पनि हामीलाई रणनीतिक रुपमा कहाँ अवसर छ, तथ्याङ्क सहित सुझाव सल्लाह दिनु हुन्छ । कहाँ कस्तो अवसर छ, कहाँ के भइरहेको छ भन्ने  विषयमा हाम्रो छलफल हुन्छ स्ट्राटेजी कमिटीमा । अनि त्यो स्ट्राटेजी कमिटीमा डिस्कसन अनुसारले हामी अगाडी बढ्छौ,’ उनले भने । 

null

सुशासन र अनुपालनमा नो कम्प्रमाइज

नबिल बैंकले व्यवसाय विस्तारसँगै सुशासन, अनुपालन र जोखिम व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आएको छ । बैंक हालसम्म नेपाल राष्ट्र बैंकको कारबाहीमा नपर्नुको एउटा कारण सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नु रहेको डीसीईओ बजगाईं बताउँछन् । उनका अनुसार छोटो समयका लागि व्यापार विस्तार गर्न सुशासन, अनुपालन र जोखिम व्यवस्थापनमा सम्झौता गर्ने हो भने त्यस्तो व्यवसाय दीर्घकालीन रूपमा टिक्दैन ।

‘दुई-चार वर्ष व्यापारमा मात्रै जोड दिएर व्यापार राम्रो गर्ने तर अनुपालन र सुशासनमा सम्झौता गर्ने हो भने त्यो दुई-चार वर्षभन्दा बढी टिक्दैन भन्ने छर्लङ्ग छ । त्यसकारण हामीले देखेर पनि सिक्नुपर्छ । अनुपालन, सुशासन र जोखिमलाई सम्झौता गरियो भने दुई-तीन वर्ष राम्रो गरिएला, तर त्यो टिकाउ र दीर्घकालीन हुँदैन,’ उनले भने, ‘सुशासन र जोखिमलाई कायम राख्दै व्यवसाय गर्ने हो । त्यसरी नै दीर्घकालीन र टिकाउ व्यवसाय हुन्छ ।’ 

बजगाईंका अनुसार संस्थाको सुशासन, अनुपालन र जोखिम व्यवस्थापनप्रतिको प्रतिबद्धताले ग्राहक तथा व्यापारिक समुदायमा पनि विश्वास निर्माण गर्छ । यही विश्वास दीर्घकालीन व्यवसाय विस्तारको आधार बन्ने उनको भनाइ छ । सुशासन र अनुपालनलाई व्यवहारमा उतार्न बैंकले विभिन्न नीतिगत व्यवस्था गरेको छ । बैंकमा कर्जा जोखिम व्यवस्थापन नीति, सुशासन नीति र सञ्चालन जोखिम व्यवस्थापन नीतिलगायतका व्यवस्था छन् । यिनै नीतिगत संरचनामार्फत बैंकका विभिन्न गतिविधि सञ्चालन र निगरानी हुने गरेको बजगाईंले बताए ।

कर्जा स्वीकृतिमा पनि विभिन्न तहको जाँच र सन्तुलनको व्यवस्था गरिएको छ । बैंकमा कर्जा समिति रहेको र २ अर्ब रुपैयाँसम्मका कर्जा प्रस्ताव उक्त समितिबाट स्वीकृत हुने व्यवस्था छ । २ अर्ब रुपैयाँभन्दा माथिका कर्जा प्रस्ताव भने सञ्चालक समितिमा पुग्छन् । साना कर्जाका लागि छुट्टै कर्जा समिति रहेको उनले बताए ।

‘सबैको आ-आफ्नो धारणा हुन्छ । यो ठीक हो, त्यो बेठीक हो भनेर छलफल हुन्छ । सञ्चालन, व्यवसाय र जोखिमको पनि प्रतिनिधित्व हुन्छ । व्यवसायले ल्याएको फाइलमा जोखिम पक्षले यो ठीक छैन भन्न सक्छ, अनुपालन पक्षले पनि प्रश्न उठाउन सक्छ,’ उनले भने, ‘बैंकले बनाएका नीति, समिति र संरचना कार्यान्वयन भए-नभएको नियमित लेखापरीक्षणमार्फत परीक्षण गरिन्छ । कुनै प्रक्रिया पूरा नभएको वा नीतिअनुसार काम नभएको अवस्थामा लेखापरीक्षणले त्यसबारे टिप्पणी गर्ने र सुधारका लागि प्रक्रिया अघि बढाउने व्यवस्था छ ।’ 

लेखापरीक्षणको प्रतिवेदन सञ्चालक समितिसम्म पुग्ने र देखिएका कमजोरी सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाइने बजगाईंले बताए । उनका अनुसार बैंकले बनाएका नीति र प्रक्रिया निरन्तर पालना गर्दै जाने हो भने संस्थाभित्रको निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन र अन्य संरचना आफैँ सन्तुलित हुँदै जान्छन् । 

डिजिटलबाट लागत घटाउने 

नबिल बैंकले आगामी दिनमा खुद्रा कर्जा तथा साना तथा मझौला उद्यमका कर्जा डिजिटल माध्यमबाट प्रवाह गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । कर्जा आवेदनदेखि मूल्यांकन र स्वीकृतिसम्मको प्रक्रिया डिजिटल बनाउन सके शाखाको सञ्चालन खर्च घटाउन सकिने बैंकको अपेक्षा छ । बैंकले खुद्रा तथा साना तथा मझौला उद्यमका कर्जालाई डिजिटल माध्यमबाट मूल्यांकन गर्न सकिने गरी कर्जा मूल्यांकन प्रणाली विकास गर्ने तयारी गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा कर्जा योग्यताको मूल्यांकन गर्ने र ग्राहकले आफ्नै मोबाइल फोन वा कम्प्युटरबाट कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था विस्तार गर्ने बैंकको योजना छ । यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा कर्जाका लागि ग्राहकले शाखामै पुग्नुपर्ने आवश्यकता कम हुनेछ ।

null

त्यससँगै बैंकले शाखाको संख्या र सञ्चालन संरचनाको समेत पुनरावलोकन गर्दै सञ्चालन खर्च घटाउने योजना रहेको डीसीईओ बजगाईं बताउँछन् । ‘बैंकिङ प्रणालीमा १५ खर्बभन्दा बढी रकम थुप्रिएर बसेको अवस्थामा ब्याजदर निरन्तर घट्दै जाँदा बैंकहरूले आधारदर आसपासमै कर्जा दिनुपर्ने अवस्था आएको छ । अर्कोतर्फ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने विभिन्न शुल्कमा समेत कडाइ गरेको छ । कुन सेवा शुल्क लिन पाउने र कुन शुल्क लिन नपाउने भन्नेमा नियामकीय व्यवस्था कडा बन्दै गएपछि शुल्कबाट हुने आम्दानीमा समेत दबाब परेको छ । यस्तो अवस्थामा बैंकका लागि सञ्चालन खर्च घटाउनु महत्वपूर्ण बनेको छ,’ उनले भने ।

नबिलले पछिल्लो समय डिजिटल प्रविधिलाई आफ्नो प्राथमिकतामा राखेको छ । विगतमा कागजी रूपमा हुँदै आएका धेरै काम कम्प्युटर प्रणालीमा रूपान्तरण भइसकेका छन् भने एआईको प्रयोग बढ्दै गएको छ । बैंकका अनुसार नबिलमा अहिले करिब ९० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ । डिजिटल कारोबारको हिस्सा यति धेरै भइसकेपछि बैंकले प्रविधिको प्रयोगलाई सेवा प्रवाहमा मात्र नभई सञ्चालन खर्च घटाउने रणनीतिसँग पनि जोडेको छ ।

यसका लागि कर्मचारीको डिजिटल क्षमता अभिवृद्धिलाई समेत बैंकले प्राथमिकतामा राखेको छ । कर्मचारीलाई विभिन्न डिजिटल साक्षरता तथा प्रविधिसम्बन्धी पाठ्यक्रम अध्ययन गराउने र नयाँ प्रविधिसँग अभ्यस्त बनाउने काम भइरहेको बजगाईंले बताए । ‘हामीले सबै कर्मचारीलाई डिजिटल साक्षरता गराएर क्षमतावान बनाउने, छिटो काम गर्ने र सजिलोसँग काम गर्ने दिशामा व्यापक रूपमा तालिम दिइरहेका छौँ । यसले कर्मचारीको सीपको स्तर बढाउँछ, काम छिटो हुन थाल्छ र अन्ततः सञ्चालन खर्च घट्छ। समयको पनि बचत हुन्छ,’ उनले भने ।

डिजिटल कारोबारको विस्तारसँगै नबिलले आफ्नो शाखा सञ्जालको आवश्यकता र उपयोगितामाथि पनि अध्ययन थालेको छ । विगतमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा शाखा विस्तार गरिएको भए पनि अहिलेको डिजिटल कारोबारको अवस्थाले शाखाको संरचनामाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । छोटो दूरीमै धेरै शाखा रहेका कारण ती शाखालाई निरन्तर सञ्चालन गर्दा लाग्ने खर्च र त्यसबाट ग्राहक तथा बैंकलाई हुने लाभबारे अध्ययन भइरहेको बजगाईं बताउँछन् ।

‘विगतमा सरकारले सबै ठाउँमा शाखा हुनुपर्छ भनेर सबै ठाउँमा शाखा खोलियो। जहाँ एक-दुईवटा शाखा छन्, त्यहाँ ठीकै छ । तर काठमाडौंमा गल्लीपिच्छे शाखा छन् । कारोबार नै ९० प्रतिशत डिजिटल माध्यमबाट भइरहेको छ भने शाखाको आवश्यकता रहन्छ कि रहँदैन, के गर्दा ग्राहक र बैंकलाई फाइदा हुन्छ भनेर अध्ययन गरिरहेका छौँ,’ उनले भने ।

राष्ट्र बैंकले पनि धेरै शाखा भएका स्थानमा शाखा समायोजन गर्न सकिने गरी सहजीकरण गरिसकेको छ । सोहीअनुसार नबिलले केही महानगर क्षेत्रमा शाखा समायोजन गरिसकेको छ भने थप शाखा समायोजनका लागि दोस्रो चरणको अध्ययन अघि बढाएको छ ।

null

दशैं अगाडि लाभांश 

नबिल बैंकको लाभांश इतिहास हेर्दा विगतमा सेयरधनीले उच्च प्रतिफल पाउँदै आएको देखिन्छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ । यही आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ । वास्तविक लाभांश भने सञ्चालक समितिको निर्णय र नियामकीय स्वीकृतिपछि मात्रै तय हुनेछ ।

बैंकले आगामी दसैँअघि नै साधारण सभा गरेर सेयरधनीलाई लाभांश वितरण गर्ने योजना बनाएको छ । त्यसका लागि सञ्चालक समितिले लाभांश प्रस्ताव गर्नुपर्नेछ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारण सभाबाट अनुमोदन गर्नुपर्नेछ । ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले यसपटक कति प्रतिशत लाभांश वितरण गर्ला भन्ने चासो सेयरधनीमा देखिएको छ । 

Share News