हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी, अवस्था झन् जटिल बन्दै

ट्रम्प र इरानका विरोधाभासी बयान

फाइल तस्बिर ।

काठमाडौं । भारतले हर्मुज स्ट्रेटमा आफ्ना झण्डावाहक दुई जहाजमाथि भएको गोलीबारीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतले इरानका राजदूतलाई यस विषयमा आफ्नो आपत्ति जनाएको छ ।

शनिबार हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजलाई आफ्नो बाटो परिवर्तन गर्न बाध्य पारिएको थियो । बीबीसी पर्शियनका अनुसार ट्यांकरहरूको आवागमनमाथि नजर राख्ने वेबसाइट ‘ट्यांकरट्र्याकर्स’ ले यस क्रममा ‘गोलीबारी’ पनि भएको बताएको छ ।

ट्यांकरट्र्याकर्सका अनुसार ‘च्यानल १६ को अडियो रेकर्डिङ’ का आधारमा इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) जससेनाले हर्मुज स्ट्रेटको पश्चिम भाग हुँदै यात्रा गरिरहेका दुई भारतीय जहाजलाई होर्मुज स्ट्रेटबाट पछाडि हट्न बाध्य पारेको थियो ।

मेरिन ट्र्याकिङ डेटाअनुसार ती जहाजहरू लारक द्वीप पार गरेपछि यू–टर्न लिएर फर्किएका थिए । सनमार हेराल्डको डेटाले ती जहाज पूर्ण रूपमा तेलले भरिएको देखाउँछ । हालको ट्र्याकिङ डाटाका आधारमा यो तेल इराकबाट आएको हुनसक्ने सम्भावना छ ।

भारतमा इरानका सर्वोच्च नेताका प्रतिनिधि डा. अब्दुल मजीद हकीम इलाहीले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘इरान र भारतको सम्बन्ध धेरै बलियो छ र मलाई यस घटनाबारे जानकारी छैन । हामी आशा गर्छौं कि सबै ठीक हुनेछ र यो विषय समाधान हुनेछ ।’

भारतीय विदेश मन्त्रालयले यस विषयमा वक्तव्य जारी गरेको छ । यसअनुसार शनिबार साँझ नयाँ दिल्लीमा इरानका राजदूतलाई विदेश सचिवसँग भेटका लागि बोलाइएको थियो । बैठकका क्रममा विदेश सचिवले भारतीय जहाजमाथि भएको गोलीबारीप्रति चिन्ता व्यक्त गरे । उनले भारतले व्यापारिक जहाज र नाविकहरूको सुरक्षालाई अत्यन्त महत्त्व दिने बताए ।

उनले यो पनि स्मरण गराए कि इरानले पहिले भारततर्फ जाने धेरै जहाजहरूको सुरक्षित आवागमनमा सहयोग गरेको थियो । विदेश सचिवले राजदूतलाई भारतको कुरा इरानी अधिकारीहरूसम्म पुर्याउन र छिट्टै भारततर्फ आउने जहाजहरूको सुरक्षित मार्ग पुनः सुरु गर्न आग्रह गरे ।

इरानी राजदूतले यी कुरा इरानी अधिकारीहरूसम्म पुर्याउने आश्वासन दिएका छन् ।

फेरि बढ्यो तनाव

यसअघि यूके मेरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ) का अनुसार हर्मुज स्ट्रेटमा एक ट्यांकरमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले गोलीबारी गरेको थियो ।  यद्यपि ट्यांकर र त्यसका चालक दल सुरक्षित रहेको जनाइएको छ । 

यसका साथै तीन स्रोतहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएका अनुसार कम्तीमा दुई व्यापारिक जहाजले होर्मुज स्ट्रेट पार गर्ने प्रयास गर्दा आफूहरूमाथि गोलीबारी भएको बताएका छन् ।

इरानी मिडियामा हर्मुज स्ट्रेट बन्द भएको खबर आएपछि धेरै जहाजहरूले यो समुद्री मार्ग छोडेर आफ्नो बाटो परिवर्तन गरेका छन् ।

इरानी सरकारी मिडियाका अनुसार देशको सेनाले हर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गरिरहेको जनाएको छ । देशका धेरै मिडियाले आईआरजीसीको एक वक्तव्य उद्धृत गर्दै भनेका छन् कि हर्मुज स्ट्रेट ‘अघिल्लो अवस्थामै’ फर्किनेछ र सशस्त्र बलहरूले यस क्षेत्रलाई नियन्त्रण गर्नेछन् ।

यो समाचार इस्लामिक रिभोल्युसनरी गाड्र्स कोप्र्ससँग सम्बन्धित फार्स न्यूज एजेन्सी, इरानी स्टुडेन्ट्स न्यूज एजेन्सी र सरकारी प्रसारक आईआरआईबीले दिएका हुन् । ती संस्थाहरूले भने, ‘हामीले यसअघि केही जहाजहरूलाई यो जलमार्ग हुँदै गएको देखेका थियौं, तर यस महत्त्वपूर्ण शिपिङ मार्गबाट कति जहाज पार भए भन्ने स्पष्ट छैन ।’

आईआरजीसीको वक्तव्यमा अमेरिकामाथि ‘समुद्री डकैती’ को आरोप लगाइएको छ र भनिएको छ कि उसको ‘कथित नाकाबन्दी’  समुद्री लुटसरह हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि होर्मुजमा ‘अमेरिकी नाकाबन्दी’ जारी रहनेछ । इरानले पहिले चेतावनी दिएको थियो कि यदि अमेरिकाले उसका बन्दरगाहहरूको नाकाबन्दी जारी राख्यो भने उसले हर्मुज स्ट्रेट बन्द गर्नेछ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि यदि बुधबारसम्म इरानसँग कुनै ठूलो सम्झौता भएन भने फेरि इरानमाथि बमबारी गरिनेछ । पत्रकारहरूले ट्रम्पलाई युद्धविराम बढाउनेबारे सोध्दा उनले भने, ‘सायद म यसलाई अघि बढाउने छैन । तर नाकाबन्दी जारी रहनेछ । दुःखको कुरा, हामीले फेरि बम खसाल्न सुरु गर्नुपर्नेछ ।’

यो बयान त्यस्तो समयमा आएको हो जब दुवै देशबीच सम्झौता हुने आशा गरिएको छ । ‘उनीहरूले केही समयअघि निकै राम्रो खबर पाएका छन्। मध्यपूर्वमा इरानसँगको अवस्था निकै राम्रो हुँदै गएको देखिन्छ,’ उनले थपे ।

पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो, तर त्यसबाट कुनै निष्कर्ष निस्किएको थिएन ।

ट्रम्प र इरानका विरोधाभासी बयान

अमेरिका र इरानबाट आएका परस्पर विरोधी बयानका कारण यदि तपाईं अन्योलमा हुनुहुन्छ भने वास्तविकता यही हो– अवस्था वास्तवमै निकै जटिल छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै विभिन्न प्रकारका बयान दिएका थिए र वार्ताको प्रगतिप्रति सकारात्मक दृष्टिकोण अपनाएका थिए । उनले  इरानले युरेनियम सम्वर्धन नगर्ने र उसले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डार त्याग्न सहमति जनाएको जानकारी दिए ।

तर उनका यी सबै दाबीलाई इरानको संसदका सभामुख बगर गालिबाफले अस्वीकार गरेका छन् । उनका अनुसार ट्रम्पले ‘एक घण्टामा सात दाबी गरे र सबै सात गलत थिए ।’

तर इरानको पक्षबाट पनि स्थिति पूर्ण रूपमा स्पष्ट छैन । विदेशमन्त्री अब्बास अराघचीले पहिले हर्मुज स्ट्रेट पूर्ण रूपमा खुला रहेको घोषणा गरेका थिए, तर पछि स्पष्ट पार्दै तेल ट्यांकर र जहाजहरूले इरानले निर्धारण र नियन्त्रण गरेको मार्गबाट मात्रै गर्नुपर्ने बताएका थिए ।

यसपछि इरानको सेनाले सरकारी मिडियालाई उद्धृत गर्दै हर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः स्थापित गरिरहेको जनाएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)

Share News