सर्वोच्चको फैसलापछि छलफलमा व्यस्त देउवा–खड्का समूह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति उपसभापति पूर्णबहादुर खड्का पक्ष काठमाडौंमा छलफलमा जुटेका छन् । 

सर्वोच्च अदालतले विशेष महाधिवेशनविरूद्ध देउवा–खड्काले दिएको रिट खारेज गरिदिएको थियो । त्यसपछि शनिवार र (आज) आइतबार पनि देउवा–खड्का समूहका नेताहरू छलफलमा छन् । 

शनिवार खड्का निवास गोल्फुटारमा छलफल भएकोमा आज धुम्बाराहीमा छलफल भएको हो । 

छलफलमा खड्का, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मिनबहादुर विश्वकर्मा, रामहरि खतिवडा लगायत सहभागी छन् । 

अदालतको पछिल्लो फैसलाले कांग्रेस भित्रको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको छ । देउवा–खड्का पक्षले आफ्नो आगामी रणनीति तय गर्न यो बैठक डाकेको बुझिएको छ । यद्यपि अदालतको फैसला मानेर अघि बढ्ने उनीहरूले बताइसकेका छन् ।

Share News