देउवा पक्षको निष्कर्स : पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बीच निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि देउवा पक्षका पूर्वकेन्द्रीय सदस्यहरू आगामी रणनीति तय गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्को निवासमा जुटेका थिए ।

सो भेलाले पार्टीभित्रको विभाजन अन्त्य गर्दै एकताको वातावरण निर्माण गर्न वर्तमान नेतृत्व जिम्मेवार बन्नुपर्ने धारणा अघि सारेको हो ।

भेलामा सहभागी नेताहरूले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै त्यसपछिको राजनीतिक दिशाबारे गम्भीर छलफल सुरु भएको बताएका छन् । उनीहरूका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच अबको भूमिकाबारे स्पष्ट रणनीति बनाउन आवश्यक देखिएको छ ।

भेलापछि विकासन्युजसँग कुरा गर्दै नेता जितजंग बस्नेतले सर्वोच्चको निर्णयपछि पार्टीभित्र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल प्रारम्भ भएको जानकारी गराए । उनले भने, ‘सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको छलफल हो ।’

देउवा पक्षले एकता, समन्वय र समावेशितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पार्टीभित्र आफ्नो भूमिका तय गर्ने संकेत गरेको छ । यसले नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारणमा नयाँ बहस सुरु हुने देखिएको छ ।

Share News