विद्यार्थी नेताहरूको पक्राउप्रति कांग्रेसले जनायो आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरू पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्ट, कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल विसीलाई पक्राउ गरी थुनामा राखिएको प्रति आपत्ति जनाए ।

वक्तव्यमा लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण हिँडडुल तथा विरोध वा असहमति व्यक्त गर्ने अधिकार नागरिकका मौलिक अधिकार भएको उल्लेख गर्दै यस्ता अधिकारको संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व रहेको बताइएको छ ।

कांग्रेसले यस्ता अधिकार प्रयोग गर्ने क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्नु लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाउने कार्य भएको जनाएको छ । 

साथै असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता र संविधानको मर्म विपरीत रहेको पनि उल्लेख गरिएको छ ।

असहमति र विरोध लोकतन्त्रको अभिन्न अंग भएको भन्दै त्यसलाई दमन नभई संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

Share News