मल आपूर्तिका लागि मन्त्री चौधरीले बढाइन् सक्रियता

रासायनिक मलको संकट रोक्न जी–टु–जी खरिदको निर्णय, डेढ लाख मेट्रिक टन ल्याउने तयारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग आपूर्तिको पहल गरेकी छन् । 

मन्त्री चौधरीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएको समस्या समाधानका लागि कुटनीतिक पहल गरेकी हुन् । 

पश्चिम एसियामा देखिएको संकटका कारण आपूर्ति व्यवस्थापन सहज गर्नका लागि उनले पहल गरेकी हुन् । 

मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात छ । 

मन्त्री चौधरीले थप १ लाख ५० हजार मेट्रिक टन मल जी–टु–जी माध्यमबाट खरिद गर्ने निर्णय गरिसकेकी छन् ।

मन्त्रिस्तरीय निर्णय (२०८२ चैत १९) अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको छ । 

नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको छ । यसैबीच वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको छ ।

Share News