काठमाडौंका अव्यवस्थित बस्ती हटाइँदै, मन्त्री लम्सालको संयोजकत्वमा समन्वय समिति गठन

काठमाडौं । सहरी विकास मन्त्रालयमा शुक्रबार सम्पन्न सरोकारवालाहरूको बैठकले काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित बस्तीहरू हटाउने र व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न निर्णयहरू गरेको छ । 

सहरी विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी २०८३ वैशाख १२ र १३ गते बस्तीका संरचनाहरू भत्काउने र खाली गर्ने कार्यतालिका तय गरेको छ ।

यस प्रक्रियालाई व्यवस्थित बनाउन सुरुमा जिल्ला प्रशासन कार्यालयमार्फत माइकिङ गरी सूचना दिने र संरचना भत्काउनु पूर्व नै स्थानीयलाई स्थान खाली गर्न प्रोत्साहन गर्ने निर्णय भएको छ ।

बस्ती खाली गराउने क्रममा मानवीय संवेदनशीलतालाई ध्यान दिँदै अशक्त, अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई प्राथमिकताका साथ उद्धार गरी सुरक्षित आश्रयस्थल वा अस्पतालसम्म पु¥याइनेछ ।

बस्ती व्यवस्थापनको यो वृहत् कार्यमा विभिन्न निकायहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स र मेडिकल टिमको व्यवस्था गर्नेछ भने गृह मन्त्रालयले सामान ढुवानी र मानिसहरू ओसारपसारका लागि सवारी साधनको समन्वय गर्नेछ ।

विस्थापितहरूका लागि पहिलो आश्रयस्थलमा खाना र खाजाको प्रबन्ध काठमाडौं महानगरपालिकाले मिलाउनेछ । यसैगरी, मन्त्रालयले अल्पकालीन बसोबासका लागि पानी र दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्ने तथा प्रत्येक परिवारको भेरिफिकेशन गरी फोटोसहितको परिचयपत्र वितरण गर्नेछ ।

बस्ती खाली भइसकेपछि उक्त क्षेत्रमा संरचना हटाउने र सडक ट्र्याक खोल्ने कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले तत्काल सुरु गर्नेछन् । 

यस सम्पूर्ण प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउन मन्त्रीको संयोजकत्वमा काठमाडौं महानगरका प्रमुख र विभिन्न मन्त्रालयका सचिवहरू सम्मिलित एक केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।

उक्त समितिको मातहतमा रहेर कार्य सम्पादन गर्न छुट्टै ’एक्सन टिम’ समेत बनाइनेछ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस अभियानका क्रममा आवश्यक पर्ने सुरक्षा प्रबन्ध र साधन स्रोतको माग गरेमा सम्बन्धित निकायहरूले तत्काल उपलब्ध गराउनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

Share News