पाँच वर्ष बित्दा पनि अस्पताल नबनेपछि ठेक्का रद्द गर्न मन्त्री लम्सालले दिए निर्देशन


काठमाडौं । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन नसकेपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार अस्पतालको निरीक्षण गर्दै ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् । 

अनुगमनका क्रममा निर्माण कम्पनी, इन्जिनियर र अस्पताल प्रशासनसँग प्रगति तथा ढिलाइको कारणबारे जानकारी लिँदै मन्त्री लम्सालले थप ढिलाइ अब कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । 

करिब २५ करोड ९५ लाख ६४ हजार रुपैयाँ लागतमा पाँच तले भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई २०८० असार १७ गतेभित्र सक्ने लक्ष्य राखिए पनि स्वच्छन्द–बानियाँ जेभीको लापरबाहीका कारण पटक-पटक म्याद थपिँदै आएको छ । 

भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत बन्दै गरेको यस भवनको भौतिक प्रगति ९१ प्रतिशतभन्दा बढी भएर करिब ६ करोड रुपैयाँ बराबरको काम बाँकी रहेको बताइए पनि नयाँ भवन समयमै नबन्दा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा दिन बाध्य छ । 

पर्याप्त वार्डको अभावमा बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोगिरहेका छन् भने नयाँ भवन सञ्चालनमा आएपछि व्यवस्थित ओपीडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको छ ।

वि.सं. २०११ मै ५० शय्यामा स्तरोन्नति भए पनि भौतिक पूर्वाधारको अभावमा सेवा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीको लामो प्रतीक्षालाई ध्यानमा राखेर अब निर्माणमा जरा पनि ढिलाइ गर्न नहुने बताए ।

Share News