हरियाली विस्तार र वित्तीय सचेतनामा महालक्ष्मी विकास बैंकको सक्रियता

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन तथा मानव सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका–१ काँडामा दुई हजार वटा कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ ।

बैंकका अनुसार हरियाली क्षेत्र विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोतको उपयोग तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।

त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ । सो कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले बाँकेको नेपालगञ्जस्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

युवामाझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न बैंकले सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि आर्थिक सहयोग गरेको छ ।

यसैबीच, २०८२ चैत २ देखि ८ गतेसम्म मनाइएको ग्लोबल मनी विक २०२६ का अवसरमा बैंकले देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गलाई समेटेर वित्तीय साक्षरता, र्याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिएको छ ।  

Share News