काठमाडौं । काठमाडौं पर्यटनको प्रचुर सम्भावना र पूर्वाधार विकास हुँदै गए पनि बाह्रै महिनाको गन्तव्य बन्न नसकेको अर्थमन्त्री डा. श्वर्णिम वाग्लेले बताएका छन् । सोमबार वाग्लेले सार्वजनिक गरिएको मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा सो कुरा उल्लेख गरेका हुन् ।
नेपालको आर्थिक समृद्धिको बलियो आधार मानिएको पर्यटन क्षेत्र अतुलनीय प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाका कारण विश्वकै प्रमुख आकर्षणमध्ये एक हो । श्वेतपत्रअनुसार सन् २०२५ मा करिब ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उनीहरूको औसत बसाइ अवधि १६.३४ दिन पुगेको छ । यसले पर्यटन क्षेत्रमा उत्साहजनक सुधारको संकेत गरेको वाग्लेले बताएका छन् ।
पर्यटक आगमनसँगै होटल तथा आतिथ्य क्षेत्रको पूर्वाधारमा उल्लेखनीय विस्तार भएको छ । हाल नेपालमा २२२ तारे होटलसहित १६ सयभन्दा बढी पर्यटकीय स्तरका होटल सञ्चालनमा छन्, जसको दैनिक क्षमता ६४ हजारभन्दा बढी शय्या रहेको छ । तर, यति सम्भावना र लगानी हुँदाहुँदै पनि कमजोर हवाई तथा सडक पूर्वाधार, नयाँ बनेका अन्तर्राष्ट्रिय विमान स्थलहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु र राष्ट्रिय ध्वजावाहकको कमजोर सेवा जस्ता कारणले पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको श्वेतपत्रमा उल्लेख छ ।
गुणस्तरीय पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी विस्तार, पूर्वाधार सुधार र डिजिटल प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने श्वेतपत्रमा भनिएको छ । साथै, गैरआवासीय नेपाली सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्दै नेपाललाई ‘बाह्रै महिना घुम्न मिल्ने’, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।