काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकले खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक रहेको जनाएको छ।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत ‘प्यान अपडेट’ विकल्पमा गई आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस (e-TDS) रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुन्छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची–१० मा करकट्टीको विवरण मिलान गर्नेछ । यसले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउने विश्वास बैंकले लिएको छ ।
प्यान अद्यावधिक नगरेका कारण ई–टीडीएसमा ब्याजकर दाखिला नभएको वा त्यसपछि थप समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने पनि बैंकले स्पष्ट पारेको छ ।
त्यसैगरी, ग्राहकहरूलाई खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फत ‘चेन्ज इमेल’ विकल्प प्रयोग गरी ईमेल ठेगाना अद्यावधिक गर्न सकिनेछ । शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।
यसअघि प्यान उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।