धानखोला–लमही सडकखण्डको स्तरोन्नति सुरु, प्रविधिले फेरिँदै पूर्व–पश्चिम राजमार्ग

एफडीआर र ‘सुपरपेभ आस्फाल्ट’ को प्रयोग गरी काम अगाडि बढाइँदै

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ । 

सडकको गुणस्तर, टिकाउपना र दिगोपनालाई प्राथमिकतामा राख्दै नेपालमा पहिलो पटक अत्याधुनिक निर्माण प्रविधिहरू ‘फूल डेप्थ रिक्लेमेशन’ (एफडीआर) र ‘सुपरपेभ आस्फाल्ट’ को प्रयोग गरी यो कार्य अगाडि बढाइएको हो । 

यस पद्धतिले पुराना आस्फाल्टजन्य पदार्थलाई पुनः प्रयोग गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने र सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालीन रूपमा भरपर्दो एवं लागत प्रभावकारी बनाउने विश्वास लिइएको छ । 

आयोजना सम्पन्न भएपछि यो सडक खण्ड १२ मिटर चौडा हुनेछ, जसमा ७ मिटरको क्यारिजवे र दुवैतर्फ साढे दुई मिटरको सोल्जर रहनेछ ।

सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अत्याधुनिक प्रविधिको प्रयोगको सराहना गरे ।

null

उनले यो आयोजना प्रदेश र यहाँका जनताका लागि महत्वपूर्ण अग्रगामी कदम भएको बताउँदै यसले यात्रा सुरक्षित बनाउनुका साथै स्थानीय व्यवसायी, किसान र उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने उल्लेख गरे ।

त्यसैगरी, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले यस आयोजनालाई नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरे । 

उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत ढुवानी लागत घटाउन र समुदायलाई बजारसँग जोड्न उच्च गुणस्तरको पूर्वाधारमा लगानी गरिएको बताउँदै यसले नेपालको दिगो आर्थिक वृद्धिप्रतिको संयुक्त निष्ठालाई प्रतिविम्बित गर्ने धारणा व्यक्त गरे ।

null

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसीए–नेपालको लगानी नेपाल सरकारका योजनाहरूको पूरक रहेको चर्चा गर्दै यस सहकार्यले सबल पूर्वाधार र आर्थिक अवसर विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

एमसीसीका राष्ट्रिय आवासीय उप-निर्देशक सञ्जय पौड्यालले अत्याधुनिक प्रविधिको प्रयोगले नेपाललाई लागत प्रभावकारी पूर्वाधार निर्माणमा सघाउने एमसीसीको प्रतिबद्धता दोहोर्याए ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजनालाई पारदर्शिता र उच्चतम गुणस्तरका साथ सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित सबै निकायलाई सहयोगका लागि आभार प्रकट गरे ।

एमसीसी नेपाल कम्प्याक्टको महत्त्वपूर्ण हिस्सा रहेको यस सडक मर्मत आयोजनाले नेपालको सडकको अवस्थामा सुधार ल्याई समग्र ढुवानी लागत घटाउने लक्ष्य राखेको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी घटाउन कार्यरत स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापना गरिएको एमसीसीले सुशासन, भ्रष्टाचार नियन्त्रण र लोकतान्त्रिक अधिकारप्रति सम्मान जस्ता महत्त्वपूर्ण मापदण्डहरू पालना गर्ने राष्ट्रहरूलाई समयसीमायुक्त अनुदान र सहायता प्रदान गर्दछ । 

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) नेपाल सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनाहरू कार्यान्वयनका लागि विसं २०७५ वैशाखमा विकास समिति ऐन, २०१३ अन्तर्गत गठन गरेको सरकारी स्वामित्वको कानुनी निकाय हो । 

Share News