कांग्रेसले ताेक्याे नवीकरण र नयाँ सदस्यका लागि समयसीमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता व्यवस्थापन र डिजिटल प्रणाली सुधारका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ । 

ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता नवीकरण र नयाँ इन्ट्रीका लागि समय थप गर्ने निर्णय गरेको हो । 

बैठकले १५औं महाधिवेशनका लागि जिल्ला र प्रतिनिधि सभा क्षेत्रबाट डिजिटल प्रणालीमा प्रविष्ट भइसकेका विवरणहरूको वर्गीकरण गर्ने निर्णय गरेको छ । 

हालसम्म नवीकरण शुल्क र नयाँ सदस्यताको विवरण बुझाउन बाँकी रहेका जिल्ला तथा क्षेत्रहरूलाई आगामी २०८३ वैशाख १६ गतेदेखि एक हप्तासम्मको समय उपलब्ध गराइनेछ । 

यस्तै, नवीकरण भइसकेका जिल्लाहरूमा पनि विभिन्न कारणले सदस्यता छुटेकाहरूको हकमा विधान बमोजिमको शुल्क लिएर सोही अवधिमा केन्द्रबाटै नवीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा पनि बैठकले विशेष निर्णय गरेको छ । अधिवेशन सम्पन्न भएका र हुन नसकेका समितिहरूलाई वर्गीकरण गरी देखिएका समस्या समाधान गरिने भएको छ।

डिजिटल प्रणालीमा इन्ट्री हुन बाँकी जनसम्पर्क समितिहरूलाई पनि वैशाख १६ गतेदेखि एक हप्ताको समय दिइनेछ भने अनलाइनमार्फत क्रियाशील सदस्यता भर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । 

नेपाली नागरिकता भएका व्यक्तिहरूलाई जनसम्पर्क समिति र पार्टीको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी, रिक्त रहेका वडा सभापतिहरूको हकमा सदस्यता अद्यावधिक गर्ने कार्यलाई सहज बनाउन जिल्ला, क्षेत्र वा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत काम अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ । 

पार्टीले सदस्यता वितरण र व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले यी कदमहरू चालेको जनाएको छ ।

Share News