काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नयाँ नेतृत्व चयनका लागि आगामी २०८३ जेठ ९ गते (शनिबार) निर्वाचन हुने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको नयाँ मिति तय गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन र सहकारी विभागबाट प्राप्त सैद्धान्तिक स्वीकृतिका आधारमा निर्वाचनको मिति घोषणा गरिएको बैंकले जनाएको छ ।
यससँगै लामो समयदेखि रोकिएको बैंकको नेतृत्व चयन प्रक्रिया अब औपचारिक रूपमा अघि बढ्ने भएको छ । बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार नियामक निकायबाट आवश्यक सहमति प्राप्त भइसकेकाले तोकिएको मितिमा निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्न बैंक प्रतिबद्ध छ ।
नयाँ व्यवस्था अनुसार अब बैंकको सञ्चालक समिति ९ सदस्यीय हुनेछ । निर्वाचनमार्फत सातै प्रदेशबाट एक–एक जना गरी जम्मा ७ जना सञ्चालक निर्वाचित हुनेछन्, जसमा कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । यस पटक गण्डकी र मधेश प्रदेशबाट महिला सञ्चालक पद आरक्षित गरिएको बैंकले जनाएको छ ।
बाँकी दुई पदमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम बैंकिङ र सहकारी क्षेत्रका एक/एक जना विज्ञलाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनयन गरिनेछ ।
यही ९ सदस्यीय समितिभित्रबाट अध्यक्षको चयन हुने व्यवस्था रहेको छ । यस्तै, निर्वाचनमार्फत नै ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरिनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले निर्वाचनको मिति तय भएसँगै मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता लगायतका विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने जानकारी दिए ।
यस निर्वाचनमा बैंकको २२औं वार्षिक साधारण सभामा सहभागी प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले २०८२ पुस ६ गते जारी गरेको निर्देशन र सहकारी ऐन २०७४ बमोजिम बैंकको सञ्चालक समितिको संरचनामा पुनर्संरचना गरिएको हो ।
यसअघि पुस १२ गतेका लागि तय गरिएको निर्वाचन नियामक निकायको पूर्ण स्वीकृति नपाउँदा स्थगित भएको थियो ।
सहकारी क्षेत्रको एक मात्र केन्द्रीय बैंकका रूपमा रहेको यस संस्थाको निर्वाचनलाई सहकारीकर्मीहरूले विशेष चासोका साथ हेरेका छन् ।
नयाँ नेतृत्व आएसँगै सहकारी क्षेत्रको वित्तीय अनुशासन र सुदृढीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।