बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश– ‘ज्ञानकै उज्यालोबाट समस्याको समाधान सम्भव’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मानव जीवनको यात्रा ज्ञानको उज्यालोको खोज र समस्या समाधानको मार्गमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले गौतम बुद्धले देखाएको मार्ग दुःख निवारणतर्फ उन्मुख रहेको उल्लेख गरे ।

शाहले उज्यालो र अँध्यारोको रूपक प्रयोग गर्दै भनेका छन्, ‘उज्यालोको अभाव नै अँध्यारो हो। जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ ।’

उनले बुद्धका मूल शिक्षालाई स्मरण गर्दै ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, र दुःख निवारण गर्ने मार्ग छ’ भन्ने सन्देश मानव जीवनका लागि मार्गदर्शक रहेको बताए । 

साथै उनले विश्व शान्तिको कामना गर्दै नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा उभिएको धारणा व्यक्त गरे ।

सन्देशको अन्त्यमा शाहले ज्ञानको महत्त्व औंल्याउँदै लेखेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो ।’

Share News