उच्च तलबको प्रलोभनमा र पर्यटकीय भिसामा कम्बोडिया नजानू : दूतावास

काठमाडौं । नेपालीलाई उच्च तलब र पर्यटकीय भिसामा कम्बोडिया नजान थाइल्याण्डस्थित नेपाली दूतावासले निर्देशन दिएको छ । 

सोमबार दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गरेको छ । 

भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न र कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन पनि दूतावासले बताएको छ । गैह्रकानुनी कार्यमा संलग्न भएमा त्यस्ता काम बन्द गरेर नेपाल फर्कन दूतावासले आग्रह गरेको छ । 

नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र रोजगारीमा जान अनुरोध गरेको छ ।

नेपाल फर्कन सहजीकरण गर्ने राजदूतावासले कम्बोडियामा रहेका नेपालीको तथ्याङ्क तथा सूचना संकलन गरिरहेको दूतावासले उल्लेख गरेको छ । नेपालीहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङमा परेको जानकारी प्राप्त भएको दूतावासले बताएको छ ।

अनलाइन स्क्यामिङ जस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न पाँचलाख अमेरिकी डलर सम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था कम्बोडिया सरकारले लागू गरेको छ ।  

कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द र नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको दूतावासले जानकारी दिएको छ । 

null

  

Share News