काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।
सोमबार (आज) सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो ।
गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।
‘कानुनी व्यवस्था अनुसार यी निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौटी वा समानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राख्ने गरी भएको मिति २०८३ वैशाख ११ र २०८३ वैशाख २१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ सर्वोच्चले भनेको छ ।
सर्वोच्चले धरौटीमा बुझाउन नसके मात्रै हिरासतमा राख्न आदेश दिएकाे छ ।
‘धितोपत्र सम्बन्धी कसूरका हकमा यि निवेदकसँग धरौटी वा जनमानत माग गरी उल्लिखित दफा १०४ को कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा गैरकानुनी थुनामा राखिएकाले रिहा गर्न परमादेश माग गरिएको थियो । सर्वोच्चले उनको रिट भने खारेज गरेको छ ।
गोल्छा गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।