काठमाडौं । इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन नगर्न पर्यटन विभागले निर्देशन दिएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा इजाजतबिना यस्ता खेल सञ्चालन भइरहेको गुनासो प्राप्त भएपछि विभागले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।
विभागका अनुसार वञ्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप लाइन, जिप कोष्टर, जेट स्की, मोटरबोट लगायतका खेल सञ्चालन गर्दा कानूनबमोजिम दर्ता तथा इजाजत अनिवार्य गर्नुपर्ने बताईएको छ ।
पर्यटन ऐन, २०३५ को दफा ४५ क तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९३ अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालनका लागि सम्बन्धित संस्था वा कम्पनीलाई इजाजत दिने अधिकार पर्यटन विभागलाई छ ।
त्यस्तै विभागले इजाजतबिना सञ्चालन भइरहेका यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ । साथै, इजाजत नलिई सञ्चालन गरिरहेका संस्था तथा कम्पनीलाई ३० दिनभित्र आवश्यक कागजातसहित विभागमा सम्पर्क गरी विभागले अनुरोध गरेको छ ।