जडीबुटी-मनोहरा सर्भिस लेन अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्दै

काठमाडौं । सडक डिभिजन काठमाडौंले जडीबुटी मनोहरा पुल खण्डमा निर्माणाधीन सर्भिस लेन सुधारको ठेक्का अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत काठमाडौं सडक डिभिजनले ‘सुजल/एम.डि. ब्रो जेभी, इलाम’लाई ठेक्का किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।

डिभिजनका अनुसार अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि मनोहरा पुलसम्म दुवैतर्फ सर्भिस लेन सुधार कार्यका लागि उक्त कम्पनीसँग २०८० जेठ २५ गते ठेक्का सम्झौता भएको थियो । तर, पटक-पटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण प्रगतिमा सुधार नआएको, कार्यतालिका अनुसार काम नभएको र लामो समयदेखि आयोजना अलपत्र अवस्थामा रहेको जनाएको छ ।

कार्यालयले निर्माण कम्पनीले पटक–पटक प्रतिबद्धता जनाए पनि काम सुचारु नगरेको तथा आयोजना सम्पन्न गर्न आवश्यक तत्परता नदेखाएको उल्लेख गरेको छ ।

यसै आधारमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र ठेक्का सम्झौताको जीसीसी क्लज ७२.१ अनुसार ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

डिभिजनले १५ दिनभित्र यथोचित कारणसहित आधिकारिक प्रतिनिधिलाई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता अन्त्यतर्फ कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

Share News