नेपाललाई टेक हबका रूपमा विकास गरिने, कर प्रणाली सहज बनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३र८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाललाई सूचना प्रविधि तथा सेवा निर्यात केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योग रणनीतिको प्राथमिक क्षेत्रमा राखिने बताए । साथै, आईटी सेवा तथा प्रविधि निर्यातलाई प्रवर्द्धन गरिने उल्लेख गरे ।

सरकारले डिजिटल व्यापार, रिमोट वर्क तथा मूल्य अभिवृद्धि हुने वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिने नीति लिएको छ । सीमाहीन अर्थतन्त्रको अवधारणाअनुसार सेवा निर्यात र उच्च मूल्यका कृषि उपजलाई प्रवर्द्धन गर्दै आर्थिक विकास अगाडि बढाइने सरकारको योजना छ ।

नीति तथा कार्यक्रममा कर व्यवस्थापनलाई सहज र व्यवसायमैत्री बनाइने उल्लेख गरिएको छ । साथै, निर्यातलाई प्रतिस्पर्धी बनाउने र अन्तर्राष्ट्रिय बजार विविधीकरणमा जोड दिइने सरकारको लक्ष्य छ ।

त्यस्तै, आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिने तथा आयोजना सम्पन्न नहुँदासम्म जिम्मेवारी हेरफेर नगर्ने व्यवस्था लागू गरिने जनाएको छ ।

सरकारले सार्वजनिक खर्च कटौती, सेवा प्रवाहलाई चुस्त बनाउने तथा सार्वजनिक संस्थानलाई गाभ्ने र रणनीतिक साझेदार भित्र्याउने नीति पनि अवलम्बन गर्ने जनाएको छ ।

Share News