मूल्यवृद्धि ४.४७ प्रतिशत, खाद्य र सेवा क्षेत्रको बढ्यो

काठमाडौं । २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः २.४५ प्रतिशत र ३.९० प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १२.८७ प्रतिशत, फलफूलको ११.६७ प्रतिशत र तरकारीको ९.१८ प्रतिशतले बढेको छ । तर दाल तथा गेडागुडी २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ १.६८ प्रतिशत र मरमसला १.६४ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशत, यातायात १२.०३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशतले बढेको छ ।

क्षेत्रगत रूपमा चैत महिनामा ग्रामीण क्षेत्रको मुद्रास्फीति ३.७१ प्रतिशत र सहरी क्षेत्रको ४.७४ प्रतिशत रहेको छ ।

प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा ३.३९ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ४.६९ प्रतिशत, तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News