सरकारले आतंकवादी गतिविधि गरिरहेको शाहीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्नसमेत गरे ।

नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमवासीहरुको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यकता पनि औंल्याए । सुकुम्बासीहरुको नाममा हुकुम्वासीहरुले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उनको आपत्ति थियो । 

नेता शाहीले सरकारले अवैध संरचना हटाउने कुरा सही भएपनि गरिव सुकुम्बासीहरुमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गर्ने काम गरेको आरोप समेत लगाए ।

Share News