महेन्द्र राजमार्ग अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

काठमाडौं । सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले महेन्द्र राजमार्गअन्तर्गत चिसापानी-अत्तरिया-गड्डाचौकी सडक खण्डको सडक क्षेत्रभित्र भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ ।

सडक डिभिजन महेन्द्रनगरले सडक केन्द्रबाट दायाँ-बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने जनाएको छ ।

कार्यालयले सडक विभागको स्वीकृति बिना स्थायी तथा अस्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने, मालवस्तु बिक्रीका लागि राख्ने, नालो पुरेर प्रवेश मार्ग बनाउने, सडक संरचना भत्काउने तथा ढल वा पानी सडक किनारको नालामा मिसाउने जस्ता कार्य सार्वजनिक सडक ऐन, २०३१ अनुसार निषेध गरिएको उल्लेख गरेको छ ।

सडक सीमाभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

कार्यालयले तोकिएको अवधिभित्र अतिक्रमित संरचना नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा (३) बमोजिम सडक डिभिजन कार्यालय आफैंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।

Share News