काठमाडौ । गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा असोजको बाढी–पहिरोका कारण ठूलो दाबी भुक्तानी परेपछि त्यसको असर कम्पनीको नाफामा देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्ममा अधिकांश बीमा कम्पनीहरूको नाफामा गिरावट देखिएको हो ।
निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७.२३ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा कम्पनीहरूको कुल नाफा २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ रहेकोमा चालु आवको यही अवधिमा कम्पनीको नाफा १ अर्ब २७ करोड १९ लाख रुपैयाँमा सीमित देखिएको छ ।
तेस्रो त्रैमाससम्ममा दुई कम्पनीले घाटा बेहोरेका छन् । युनाइटेड अजोड इन्स्योरेन्स, र नेशनल इन्स्योरेन्सले घाटा बेहोरेका छन् ।
तेस्रो त्रैमाससम्ममा आईजिआई प्रुडेन्सियलको सबैभन्दा धेरै नाफा घटेको छ । कम्पनीको नाफा ९९.८३ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको चैत्रसम्ममा ४ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जबकि कम्पनीले गत आवको यही अवधिमा २६ करोड ५१ लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) शरण रेग्मीका अनुसार ‘जेनजी’ आन्दोलनका कारण बीमा दाबी उल्लेख्य रूपमा बढ्दा त्यसको प्रत्यक्ष असर कम्पनीको नाफामा परेको हो । त्यसबाहेक नाफा घट्नुका अन्य उल्लेख्य कारण नरहेको उनले स्पष्ट पारे ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षमा नाफा घट्नुको मुख्य कारण ‘जेनजी’ आन्दोलनकै प्रभाव रहेको जनाएको छ ।
चैत्रसम्ममा सबैभन्दा धेरै नाफा नाफा कमाउने कम्पनी ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्म ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आवको चैत्रसम्ममा ४ करोड १ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ९१.१५ प्रतिशतले घटेको छ ।
त्यसैगरी, तेस्रो धेरै नाफा एनएलजी इन्स्योरेन्सको घटेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा ७१.७८ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको यही चैत्रसम्ममा १२ करोड ३३ लाख रुपैयाँ बराबरको नाफा कमाएकोमा चालु आवको यही अवधिमा ३ करोड ४८ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
त्यस्तै, तेस्रो त्रैमाससम्ममा शिखर इन्स्योरेन्सको नाफा ८०.२३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको चैत्रसम्ममा ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको यही अवधिमा ७ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
शिखरपछि सानिमा जिआईसीले चैत्रसम्ममा ५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ७८.०१ प्रतिशतले घटेको छ ।
चैत्र मसान्तसम्ममा हिमालयन एभरेष्ट इन्स्यारेन्सले ११ करोड ५ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १० करोड ६० लाख, नेको इन्स्यारेन्सले १६ करोड ३९ लाख रुपैयाँ र राष्ट्रि बीमा कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको तुलनामा हिमालयन एभरेष्टको ६६.७३ प्रतिशत, सलिकोको ४७.१३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ४०.५९ प्रतिशत, नेको इन्स्योरेन्सको ५५.६१ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २६.९७ प्रतिशतले नाफा घटेको छ।
प्रभु इन्स्यारेन्सको नाफा ५.६३ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चैत्रमसान्तसम्ममा २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको यही अवधिमा २१ करोड १५ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको हो ।
त्यस्तै, युनाइटेड अजोड इन्स्यारेन्स चैत्रसम्ममा ६ करोड ९७ लाख रुपैयाँ घाटामा रहेको छ । गत आवको यही अवधिमा कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । नेशनल इन्स्यारेन्स १७ करोड ६४ लाख रुपैयाँ बराबरको घाटा बेहोरेको छ । कम्पनी गत आवको यही अवधिमा पनि ७२ करोड ८१ लाख रुपैयाँ घाटामा थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढीको दाबी परेको थियो । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरुमा ३ हजार ३५५ वटाको २३ अर्ब ३८ करोड ११ लाख रुपैयाँको दाबी परेको थियो।
उक्त आन्दोलनको सबैभन्दा धेरै दाबी सिद्धार्थ इन्स्यारेन्स, ओरियन्टल इन्स्योरेन्स, आइजिआई प्रुडुन्सियल, शिखर इन्स्योरेन्स, सलिको, नेको, हिमालयन एभरेष्टलगायत कम्पनीहरूमा परेको थियो ।
त्यस्तै, गत असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षको कारण बीमा कम्पनीहरूमा ४ अर्ब १९ करोड रुपैयाँ बराबरको दाबी परेको थियो ।