काठमाडौं । काठमाडौंको गल्फुटारमा ‘सुरक्षित खाना माटोबाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ 'लोफार्म' सञ्चालनमा आएको छ।
स्थानीय उपभोक्ता तथा ग्राहकहरूलाई स्वस्थ र विषादीरहित कृषि उपज उपलब्ध गराउने उद्देश्यले यो फार्म सञ्चालनमा ल्याइएको लोफार्मका सञ्चालक सन्दिप अधिकारीले बताए । उनका अनुसार सिन्धुपाल्चोकमा उत्पादन गरिएका ताजा कृषि सामग्रीहरूको बिक्री वितरण यो फार्मको मुख्य आकर्षण रहेको छ।
सिन्धुपाल्चोकलाई काठमाडौंमा जोड्न वा ग्रामीण परिवेशलाई सहरमा प्रवेश गराउनु लोफार्म पुल बन्ने विश्वास लोफार्मले लिएको छ ।
पछिल्लो समय स्वस्थ खानपानप्रति उपभोक्ताको बढ्दो चासोलाई ध्यानमा राख्दै लोफार्मले आफ्नै उत्पादनका साथै अन्य विभिन्न प्रजातिका तरकारी तथा फलफूलहरू बजारमा ल्याएको हो । सयौँ रोपनीमा तरकारी तथा फलफूल उब्जाएर काठमाडौंका भान्सामा पुर्याउने उद्देश्य लोफार्मले लिएको छ ।
फार्ममा हाल काउली, बन्दा, सिम्ला मिर्च, रातो बन्दा, बुलेट खुर्सानी, र अदुवा जस्ता तरकारीहरू उपलब्ध छन्।
त्यसैगरी लसुन, गाजर, स्थानीय काँक्रो, रातो तथा सेतो शलगम, डल्लो भ्यान्टा, जुकिनी, रातो मुला, र ब्रोकाउली पनि ग्राहकहरूले खरिद गर्न सक्नेछन्।
लोफार्मको मेनुमा रङ्गीन काउली, हरियो फर्सी, चुकन्दर, आलु, प्याज, टमाटर, तीते करेला, भिन्डी, रुख कटहर, कालो मुला र चेरी टमाटर जस्ता विविध सामग्रीहरू समावेश गरिएका छन्।
उच्च मागका कारण कतिपय सामग्रीहरू सीमित मात्रामा मात्र उपलब्ध हुने भएकाले उपभोक्ताहरूलाई समयमै अर्डर गर्न फार्मले आग्रह समेत गरेको छ।
स्थानीय स्तरमै शुद्ध र अर्गानिक उत्पादन पाइने लोफार्मका सञ्चालक सन्दिप अधिकारीले जानकारी दिए । उपभोक्तालाई अर्गानिक तरकारी तथा फलफूल खुवाउनु पहिलो उद्देश्य रहेको उनको भनाइ छ । ‘माटोमा उत्पादन भएका शुद्द तरकारी ग्राहकको पुर्याएमा मानव जीवन स्वस्थ्य रहनेछ, उनले भने,’ बजारमा विषादी मिश्रण भएका खानेकुरा पाइन थालेका छन् । शरीरलाई नोक्सान गर्ने खालका उत्पादनलाई निरुत्साहन गरौ भन्ने अभिप्राय हाम्रो छ ।'
स्थानीयलाई कृषीको महत्त्व बुझाउन पनि पहाडी जिल्लामा उत्पादन गरिएको वस्तुहरु काठमाडौंमा ल्याउने गरिएको उनले बताए । यसले सहरी तथा ग्रामीण भेगका मानिसको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने मात्र नभई विभिन्न रैथाने प्रजातिका बीउबिजन संरक्षण गर्ने अधिकारीको भनाइ छ ।
रैथाने बाली खेती प्रणालीको सम्भावनाको खोजी, खेतबारीदेखि बीउ भण्डारण, समर्थन मूल्य निर्धारण, ग्रेडिङ तथा प्याकेजिङ, गुणस्तर प्रत्याभूति आदि आवश्यक सीप तथा प्रविधि हस्तान्तरण गरिने उनले बताए ।