काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कामु कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायू कुमार श्रेष्ठले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औं बैठकले दिर्घायूलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
दीर्घायू कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौं तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।
उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
आजै सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । मन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि अंशुकिरण शाही र कृष्ण बसेल नियुक्त गरेका हुन् ।
कामु कार्यकारी निर्देशक र नियुक्त सञ्चालक समिति सदस्यलाई बुधबार नै मन्त्री श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराए ।