अनियमितता भेटिएपछि ३ व्यवसायीलाई कारबाही, ७५ हजारसम्म जरिवाना

काठमाडौं । मूल्य पारदर्शिता सप्ताह अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका होटल तथा क्यान्टिनहरूको आकस्मिक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार अनियमितता भेटिएपछि तीन व्यवसायीलाई कारबाही गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निमित्त प्रमुख आशुतोष कुशवाहाका अनुसार वीरगञ्ज महानगरपालिका-११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहले उपभोक्ता संरक्षण ऐनको दफा १५ विपरीत कार्य गरेको पाइएकाले दफा ३८ (ट) अनुसार कसुर ठहर गर्दै दफा ३९ (१) (घ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, वीरगञ्ज-१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरले पनि ऐनको दफा १५ विपरीत कार्य गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

सोही वडामा रहेको चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि सोही ऐनअन्तर्गत कारबाही गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।

अनुगमनका क्रममा वीरगञ्ज-१३ मा सञ्चालित अनु देवीको व्यवसायमा केही सुधार आवश्यक देखिएकाले सामान्य निर्देशन दिइएको छ ।

जिल्ला अनुगमन समितिले उपभोक्ताको हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

Share News