कीर्तिमानी स्रष्टा उपाध्यायको नयाँ कविता संग्रह ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं । कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा आइतबार काठमाडौंमा एक कार्यक्रमगरी कृतिको लोकार्पण गरिएको हो ।

लोकार्पणमा वक्ताहरूले ‘अन्तस्करण’ लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरे । डा. उपाध्यायले कृतिमार्फत् समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको उनीहरूको भनाइ थियो । 

कार्यक्रममा सांसद राजिव खत्रीले डा. उपाध्यायका सिर्जनामा समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति पाइने बताए । 

वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले यो कृति नेपाली कविताको समकालीन यात्रामा एउटा अर्थपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे । सो अवसरमा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले संग्रहबाट एक/एक कविता वाचन गरे ।

स्रष्टा उपाध्यायले साहित्यलाई आत्माको आवाज भन्दै ‘अन्तस्करण’ आफ्ना अनुभूति र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताए । 

कार्यक्रममा लेकालीसहित सांसद खत्री, पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी र वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराईलगायत सहभागी थिए । 

मिलाप पब्लिकेशनले प्रकाशित गरेको २९९ पृष्ठको कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् । डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, २५० जति गीत र १५० जति म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।

Share News