काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले नदी क्षेत्रमा अवैध रूपमा गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्रशासनद्वारा सोमबार आयोजित मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन भइरहेको जानकारी दिए।
उनले जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई पटक-पटक बन्द गर्न निर्देशन दिइए पनि अटेर भइरहेको बताए। विना दर्ता तथा अनुमतिबिना सञ्चालन भएका क्रसर उद्योग तत्काल बन्द गरिने र अटेर गरे कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारे।
नागरिक समाज जुम्लाका संयोजक रामबहादुर महतका अनुसार केही विकास निर्माण आयोजनाले काम सम्पन्न भएपछि पनि क्रसर उद्योग सञ्चालन गरी गिट्टी-बालुवा बिक्री गर्दै आएका छन् ।
जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले नदी तथा खोलानालाबाट जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिँदा भविष्यमा ठूलो विपद् निम्तिन सक्ने चेतावनी दिए।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले स्थानीय तहको आन्तरिक राजस्व बढाउने नाममा भइरहेको अव्यवस्थित उत्खननलाई कानुनी दायरामा ल्याइने बताए ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विपद्का समयमा प्रभावकारी व्यवस्थापनका लागि समयमै प्रतिकार्य योजना तयार गर्न आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमका सहभागीहरूले क्रसर उद्योगको मापदण्ड कडाइका साथ लागू गर्दै नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार नदी किनार क्षेत्रमा अधिकांश उद्योग अवैध रूपमा सञ्चालन भइरहेको भन्दै व्यापक जनगुनासो आउने गरेको छ ।