काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्प (विक्रेता) हरूको सेवा, सुरक्षा र संरचनामा तत्काल सुधार ल्याउन आफ्ना मातहतका प्रादेशिक, डिपो तथा शाखा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
निगमको आपूर्ति तथा वितरण विभागका अनुसार निगमबाट पेट्रोलियम पदार्थ खरिद गरी बिक्री गर्ने विक्रेताहरूको बिक्री स्थलमा सेवाग्राहीको सुरक्षा र स्वच्छता सुनिश्चित गर्न यो पहल चालिएको हो ।
यस अन्तर्गत पम्पहरूमा आगलागीको जोखिम न्यूनीकरणका लागि आवश्यक अग्नि सुरक्षाका साधनहरू सधैं तयारी अवस्थामा राख्नुपर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने र परिसरभित्रका शौचालयहरू नियमित रूपमा अनिवार्य सफा राख्दै सर्वसाधारणले सहजै प्रयोग गर्न सक्ने बनाउनुपर्ने निर्देश गरिएको छ ।
यसैगरी, निगमले पम्पको भौतिक पूर्वाधार र सौन्दर्यीकरणमा समेत जोड दिँदै बिक्री परिसरभित्र रहेका क्यानोपीहरू दुरुस्त अवस्थामा राख्न र पेट्रोलियम पदार्थको मूल्यसूची स्पष्ट देखिने गरी राख्न भनेको छ ।
पम्प परिसरका सम्पूर्ण संरचनाहरूमा रङ्गरोगन गरी सरसफाइ कायम राख्नुका साथै खाली ठाउँहरूमा हरियाली प्रवद्र्धन गर्ने कार्यलाई समेत अनिवार्य रूपमा समेटिएको छ ।
यी सम्पूर्ण कार्यहरू पत्र प्राप्त भएको ७ दिनभित्र कार्यान्वयन गरिसक्न र सोको अनुगमन गरी जानकारी गराउन निगमले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रादेशिक कार्यालयसहित सबै इन्धन डिपो र शाखाहरूलाई निर्देशन दिएको छ ।
यसअघि पनि जेठ १ गते यस विषयमा जानकारी गराइसकेको स्मरण गराउँदै निगमले यसपटक तोकिएको समयभित्र निर्देशन पालना नगर्ने पम्पहरूलाई अनुगमनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।
