काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि मंगलबार (आज) अपरान्ह १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका सचिव तुलबहादुर विश्वकर्माले जानकारी दिए ।
समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।
विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन, नरबहादुर विष्टलगायतले प्रक्रियाबाट जानुपर्ने र छ वर्षे प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना अध्ययन गर्न समय माग गरेका थिए ।
बैठकमा समितिका सदस्यहरू कवीन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले उजुरी अध्ययन गर्नका लागि धेरै समय आवश्यक नपर्ने भएकाले प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सातवटा उजुरी परेको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।