काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र एकताको वातावरण निर्माण गर्ने तथा महाधिवेशन तयारीलाई व्यवस्थित बनाउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको नेताहरूले बताएका छन् ।
सम्पर्क कार्यालयको उद्घाटनपछि कांग्रेस नेता जितजंग बस्नेतले पार्टीभित्र एकताका लागि दबाब सिर्जना गर्न र महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनले भने, ‘पार्टी एकताका लागि दबाब सिर्जना गर्न र १५औं महाधिवेशनको तयारीलाई व्यवस्थित ढंगले अघि बढाउन सम्पर्क कार्यालय स्थापना गरेका हौं ।’
कांग्रेसको देउवा समूहले कांग्रेसभित्र महाधिवेशनको बहस तीव्र भइरहेका बेला संगठनात्मक सक्रियता बढाउन कार्यालय खोलिएको हो ।
तर संस्थापन भने यस कदमलाई विभाजनको संकेतको रूपमा लिएको छ । विशेष महाधिवेशनवाट निर्वाचित एक पदाधिकारी भन्छन्, ‘सानेपामा यत्रो कार्यालय छदाँछँदै सम्पर्क कार्यालय खोल्नु र विभाजनकारी गतिविधि गरिरहनु राम्रो संकेत होइन ।’
एकताका लागि अन्तिम हदसम्म लचक बनिरहँदा अर्को पक्ष कार्यालय खोलेर बागी गतिविधिमा लाग्नु राम्रो नभएको उनको भनाइ छ ।