काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले पहाडी र हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् । ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।