काठमाडौं । पोखराको अमरसिंह चोकस्थित अमरसिंह माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका ५२ वटै टहरा हटाइएको छ ।
पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाका अनुसार गत वैशाख २९ गते सर्वपक्षीय सहमतिसहित जेठ ४ गतेभित्र व्यवसायीले आफैँ टहरा हटाउने र जेठ ५ गतेपछि महानगरपालिकाले डोजर प्रयोग गर्ने निर्णय गरिएको थियो। सोही सहमतिअनुसार सबै टहरा हटाइएको छ ।
उक्त स्थानमा विसं २०३८ देखि टहरा निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको थियो । विद्यालयकै नाममा रहेको जग्गा विद्यालयले भाडामा लगाएपछि व्यवसायीहरूले टहरा बनाएर विभिन्न व्यापार सञ्चालन गर्दै आएका थिए ।
टहरा व्यवस्थापन तथा हटाउने प्रक्रियामा महानगर प्रमुख, विद्यालय प्रशासन, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी र सञ्चारकर्मीहरूको सहयोग रहेको वडाध्यक्ष बाँस्तोलाले बताए ।
खाली गराइएको जग्गाको आगामी उपयोगबारे विद्यालयका पूर्वप्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, पोखरा महानगरपालिकाको शिक्षा महाशाखालगायत सरोकारवालासँग छलफल गरेर निर्णय गरिने जनाइएको छ ।