काठमाडौं । नेपाल प्रहरीकाे १४ तलाको भवन बन्ने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा प्रहरी महानिरीक्षक सचिवालय भवन निर्माण हुने भएकाे हाे ।
भवन नेपाल प्रहरीको स्वामित्वमा रहेको ६२ हजार ४८१.५४ वर्गमिटर क्षेत्रफलको जग्गामा निर्माण गरिनेछ । भवनको ‘बिल्टअप एरिया’ ११ हजार ३३१.०६ वर्गमिटर रहनेछ ।
भवनको लम्बाइ ५५.९ मिटर, चौडाइ ३६.८५ मिटर तथा प्लिन्थ लेभलदेखि उचाइ ५०.४० मिटर रहने जनाएको छ । बेसमेन्ट बाहेक भवनमा १४ तला रहने प्रस्ताव गरिएको छ ।
भवन निर्माणमा प्रचलित मापदण्डअनुसार खुला क्षेत्र, पार्किङ लगायतका पूर्वाधार समावेश गरिने जनाएको छ । साथै, भवन सञ्चालनका लागि दैनिक १५ हजार लिटर भूमिगत पानी उपयोग हुने र फोहोर पानी व्यवस्थापनका लागि १५ हजार लिटर क्षमताको प्रशोधन प्लान्ट जडान गरिनेछ ।
वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सार्वजनिक गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन गृह मन्त्रालय, संघीय संसद सचिवालयको पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, जिल्ला समन्वय समिति काठमाडौं र काठमाडौं महानगरपालिकामा अध्ययन गर्न सकिनेछ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले उक्त प्रतिवेदनमाथि सर्वसाधारणसँग राय/सुझाव माग गरेको हो । मन्त्रालयका अनुसार प्रस्तावक नेपाल प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सिफारिससहित ईआईए प्रतिवेदन स्वीकृतिका लागि पेश गरेको हो ।